काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतबीचको सीमा समस्या राजनीतिक सहमतिका आधारमा खोज्नुपर्ने बताउनुभएको छ ।
आज भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सीमा समस्या समाधानका लागि बनेका प्रशासनिक संयन्त्रले प्राविधिक काम गरेपछि राजनीतिक रुपमा समाधानको बाटो खोज्नुपर्ने बताउनुभएको हो ।
सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्ने र प्रशासनिक रुपमा पनि मेकानिजम रहेकाले यो मेकानिजम क्रियाशील हुनुपर्ने उहाँको भनाइ छ । यस्तै क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कुटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपने पनि उहाँले बताउनुभयो । यो कुरा दुवै देशको बीचमा सुरु भइसकेको मन्त्री साउदले जानकारी गराउनुभयो ।
भारतका परराष्ट्रमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिले सीमा समस्या वार्ता र छलफलको माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाएको पनि परराष्ट्रमन्त्री साउदको भनाइ छ ।