कभर फोटो

कमाउन गएका नेत्रावती डवजङका पहलमान थापामगर ५ बर्ष देखि दुवईको जेलमा

By धादिङ न्यूज

February 27, 2024

धादिङ,१५ फागु्न २०८० । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ४ का पहलमान थापामगरको उद्धारका लागि सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका थापा मगर ५ वर्षदेखि युएईको सारजाहा सेन्ट्रल जेलमा हत्या अभियोगमा सजाय भोगिरहेका छन् ।

नेपालीकै हत्यामा संलग्न रहेको भन्दै जेल सजाय सुनाइएका उनीसहितका २ नेपालीलाई स्वदेश फर्काउन ५०/५० लाख ब्लड मनीमा समझदारी भए पनि रकम जोहो गर्न नसकेको पहलमानकी वयोबृद्ध आमा पदमकुमारी मगरले बताइन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि १८ वर्षको उमेरमै दुबई पुगेका पहलमान घर फर्कीने तयारीमै रहेको र घर आउन टिकट, झोला तयार गरे आमा भनेको छोरा एक्कासी जेल परेको खबर सुनेको पदमकुमारीले बताइन् ।

छोराको फोटोको रुपमा हातमा उनको स्कुलको प्रवेश पत्रको टुक्रोमा भएको सानो फोटो बोकेर हिँडिरहेकी आमाले सहयोगका लागि सबैसँग आग्रह पनि गरिन् ।

‘छोराले जेलबाट फोन गरेर आमा मलाई निकाल्नु भन्छ, म कहाँ जाउँ कसलाई भनौँ, के गरौँ ?’ पदमकुमारी भन्छिन्, ‘मैले केही गर्न सकिन सर ।’

पदमकुमारीले छोरालाई लागेको कसुर समेत राम्रोसँग नबुझेको बताइन् । छोरा नेपाल फर्काउन केही उपाय लाग्छ कि भन्ने आशा बोकेर बिभिन्न निकाय धाईरहेको तर पनि छोरालाई नेपाल ल्याउन नसकेको उनको भनाईको छ ।

‘घर अलपत्र छ, हामी वृद्ध भयौँ । एउटा मात्रै छोरा युएईको जेलमा छन् । मृतकका परिवारलाई दिने भनेर सहमती गरेको रकम जुटाउने आफ्नो स्रोत छैन,’ आमा पदमकुमारी मगरले भावुक हुँदै भनिन्,‘न बेच्ने जग्गा जमिन छ, न ऋण खोजेर पुग्ने रकम छ ।’ उनकाअनुसार पीडित परवारका सदस्यसँग भएको सहमतिअनुसार छोरालाई नेपाल ल्याउन ५० लाख रुपैयाँ संकलन गर्नुपर्छ । केही सहयोगी संघ संस्थामार्फत केही रकम जम्मा भए पनि थप रकम जुटाउन मुस्किल भएको उनले सुनाइन ।

के हो घटना ?

धादिङका पहलमान मगर, ओखलढुंगाका भुवन श्रेष्ठ र नवलपुर मध्यविन्दुका बाबुराम आलेमगर दुबईमा सँगै बस्थे । सन् २०१९ जुन ३ को राति बाबुराम आलेमगरको शंकास्पद मृत्यु भयो ।

भुवन र पहलमानले परिवारलाई दिएको जानकारीअनुसार बाबुराम विरामी भएर अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । साथै रहेका साथीको मृत्यु पछि प्रहरीले पक्राउ गरेर पहलमान मगर र भुवन श्रेष्ठमाथि छानबिन गरेको थियो । घटनाबारे जानकार युएई स्थित नेपाली दूतावासका अधिकारीहरुकाअनुसार मृत्युका विषयमा आरोपितहरुले फरक फरक बयान दिएका छन् । दूतावास स्रोतका अनुसार उनीहरुले बाबुरामको हत्या गरेको अदालतमा स्वीकार गरेका थिए ।

‘घटना भएको समयमा यहाँ इद चलिरहेको थियो, भुवन र पहलमान नेपाल जाँदै थिए, जानुपूर्व तीनैजनाले मध्यपान सहित जमघट गरेका थिए,’ दुतावासका अधिकारी भन्छन्, ‘मदिरा सेवनपछि झगडा हुँदा चक्कु प्रहारबाट बाबुरामको मृत्यु भएको अनुसन्धानमा देखिएको छ ।’

स्थानीय प्रहरी अनुसन्धान र उनीहरुको बयानपछि युएईको तल्लो अदाललते हत्या अभियोगमा दोषी ठहर गर्दै आजीबन कारबासको फैसला सुनाएको दुतावासका अधिकारीहरु बताउँछन् ।

दुबई मृत्यु भएका बाबुरामकी श्रीमती नरिमा मगर पनि घटना हुँदा दुबईमा नै थिइन् । उनकै जाहेरीका आधारमा अदालतले फैसला सुनाएको हो । घरको मुख्य व्यक्तिकै हत्या भएपछि नरिमा नेपाल फर्कीएकी थिइन् ।

नेपाल फर्कीएकी नरिममासँग भुवन र पहलमानका परिवारले ब्लड मनिका रुपमा १ करोड रुपैयाँ दिने सहमती गरेको थिए । ‘मृतक बाबुरामको परिवारलाई दुबै परिवारले ५०/५० लाख नगद दिएर कारागारमा रहेको श्रेष्ठ र मगरलाई रिहा गर्ने सहमती भएको थियो,’ ओखलढुंगाका भुवन श्रेष्ठका बुबा यमबहादुर श्रेष्ठले भने,‘पीडित र पीडक दुबै नेपाली भएको र नेपालमै रकम दिने सहमति भएको कागज युएईको उच्च अदालतमा पेश गरेपछि भने उच्च अदालतले ब्लड मनी दिने प्रक्रिया पुरा गरे रिहा हुने फैसला गरेको हो । यसैका लागि रकम जुटाउन दुवै परिवारलाई हम्मे हम्मे परेको छ ।’

पहलमान थापा मगर र भुवन श्रेष्ठलाई जेलबाट छुटाएर नेपाल ल्याउन परिवारका सदस्यहरु ऋण, धन र चन्दा संकलनमा जुटेका छन् । निकै कमजोर आर्थिक अवस्था भएका दुवैजनाको परिवारले विभिन्न संघ संस्था र व्यक्तिसंग हारगुहार गरेर केही लाख रकम जम्मा त गरेका छन् । तर, अझै दुवै परिवारलाई कम्तिमा पनि ३० देखि ४० लाख रुपैयाँसम्म रकम अपुग भएको उनीहरुको भनाई छ । आफ्नो जाय ज्याथा र सबै सम्पत्ति बिक्री गर्दा समेत नपुग्ने रकम जोहो गर्नुपर्ने भन्दै उनीहरुले सहयोगका लागि सबैसंग अपिल गरेका छन् ।