कभर फोटो

उमेरले छेकेन पढ्नलाई , ६२ बर्षमा एसईई दिंदै धादिङ धुनिबेशीकी शान्तीआमा

By धादिङ न्यूज

March 26, 2024

रामचन्द्र रुपाखेती महादेवबेसी ( धादिङ) । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ की शान्ता रुपाखेती अहिले ६२ बर्षको हुनुभयो । शान्ती आमा भनेर चिनिनु हने शान्ता जनजागृति माध्यमिक विद्यालयको बिद्यार्थीका रुपमा यस बर्षको एसइइ सिम्बोल नं. ०२६०३६०४ पिबाट श्री महाकाली मा.वि सिम्ले परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुन लाग्नु भएको छ । ५० बर्षको उमेर पुग्दा पनि मलाई पढ्न लेख्न आउँदैनथ्यो। नाती नातिना सरहका साथी र शिक्षकसँग पढ्दै अक्षर चिन्दै यहाँ सम्म आईपुग्न सकेको उहाँ वताउनुहुुन्छ । शान्ती आमाले जागीर खानका लागि पढ्नुभएको हैन । शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी आंफु जस्तै दुःख पाएका हरुलाई पे्ररणा दिनकै लागि पढिरहेको उहाँ बताउनुहुन्छ । नाती नातिना उमेरका सहपाठी सँगै निकै जोशका साथ एसर्ईइ दिने तयारीमा रहनु भएकी शान्ता रुपाखेती धेरैको पे्ररणाको स्रोत समेत बन्नु भएको छ । सहपाठीले ‘आमा’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उहाँले बताउनुभयो । ढिलै भएपनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उहाँको भनाई छ ।

्पढ्नलाई उमेर हौइन, हिम्मत चाहिन्छ भन्ने कुराको उदाहरण बन्नु भएकी शान्ती आमा ले १५ बर्षको उमेरमा विहे गर्नु भएको थियो । २२ बर्षको उमेरमा श्रीमान गुमाउनु भयो । श्रीमान वितेको एक बर्ष पछि एक मात्र सन्तान छोरीको समेत मृत्यु भएपछि उहाँको जिवनमा निकै गहिरो चोट पुग्न गएको थियो ।

जिवन साथी र एक मात्र सन्तानको विछोडले दिएको पिडा सहँदै घरधन्दा, खेतीपाती गर्दै उमेर कटाउनु भएकी शान्ताले ५० बर्षको उमेर भएपछि गाउँकै महादेबस्थान मा वि कुमाईखोलामा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नु भएको थियो । पढ्न बिद्यालय जान थालेपछि सहपाठीले ‘आमा’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको उहाँले बताउनुभयो । पढ्न जाने उमेरमै अर्काको घरमा बुहारी भएर भित्रिनु परेपछि उहाँले पढ्न पाउनु भएन, विहे अघि पनि घरमा दाजु भाईले पढ्न पाउँदा आफु भने घाँस दाउरा र घरधन्दामा लाग्नु परेको सम्झनुहुन्छ । पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो। अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने  कम नभएपनि घरको कामकाज व्यवहार सँगै पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने उदाहरण बन्न पाएकोमा आंफुलाई खुसी लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

आंफुले पढ्न नपाएपनि दाजु भाईले पढेर सरकारी सेवामा प्रवेश गरि राष्ट्रको लागि योगदान दिएकोमा भने उहाँ खुसीनै हुनुुहुन्छ । आंफुले पनि बेलैमा पढ्न पाएको भए केही गर्न सक्थें होला भन्ने उहाँलाई लागिनै रह्यो । यहि हुटहुटिले गर्दा ५० बर्ष लागेपछि गाउँकै बिद्यालयमा पढ्न भर्ना भएको उहाँले बताउनु भयो । विभिन्न कारणले विचैमा स्कुल छोडेको देख्दा आफुलाई पिडा हुने गरेको र आफ्नो एक्लोपन हटाउन, साथै विद्यालय छाडेकाहरुको लागि आत्मवल बढाउनकै लागि नाती नातिना उमेरका बिद्यार्थीसंगै ५० बर्षको कक्षा १ मा भर्ना भएर पढ्न थालेको शान्ती आमाको भनाई छ ।

पहिलो पटक भर्ना हुन जाँदा बिद्यालयका प्रधानाध्यापक राजकुमार कुवँरले हाँस्दै नाती नातिना संगै दिनभर संगै बसेर पढ्न सक्नुहुन्छ भनेर सोधेको अहिले पनि झलझली याद आईरहेको शान्ताी आमाले वताउनु भयो । आफुलाई पढ्न रहर लागेकाले उमेर समूहले कुनै असर नपर्ने अडान राखेपछि स्कुल भर्ना पाएको उहाँको अनुभव छ । आफ्नो कक्षाका साथीहरुले आमा भनि सम्बोधन गर्दा निकै खुसी लाग्ने गरेको शान्ता बताउनुहुन्छ । घरधन्दा र व्यवहार सम्हाल्दै पढेर कक्षा ६ मा पुग्दा भुकम्पबाट भत्केको घर बनाउने काममा लाग्नु पर्दा नियमित बिद्यालय जान नसकेर कक्षामा फेल भएपनि पढाईलाई निरन्तरता दिंदै आउनु भएकी उहाँ कक्षा ९ मा पनि अनुतिर्ण हुनुभएपनि पढाईलाई भने नछाडेकै कारण आज एसइई दिन पाउने भएको बताउनुहुन्छ ।

आफ्नो पढ्ने सपना पुरा गर्न महादेवस्थान मा.विका अहिलेका प्रधानाध्यापक केशव रुपाखेतीले जनजागृति माध्यमिक विद्यालयमा खुला शिक्षा रहेको जानकारी दिएपछि सोही अनुसार जनजागृतिमा आए भर्ना भई एसइइ परिक्षामा सहभागी हुनपाएकोमा सबैभन्दा खुसी मिलेको उहाँको भनाई छ । शान्ती आमामा पढाएको कुरा बुझ्ने, सिक्ने अभिरुची भएको मिहादेबस्थान माविका प्रधानाध्यापक केशव रुपाखेती बताउहुन्छ । उहाँले देखाएको अनुशासन र लगनशीलताका कारण कक्षाकोठा प्रभावकारी हुने गरेको प्रधानाध्यापक रुपाखेतीको भनाइ छ । पढाईको साथ साथै महिला स्थास्थ्य स्वयंसेविका भई स्थानिय समाजिक कार्यमा समेत अब्बल सहभागीता जनाईरहनु भएकी उहाँ आफ्नो एक्लो जिवनलाई एउटा प्रेरणादायी बनाएर अरुको जिवनमासमेत उत्साहभर्ने आफ्नो उद्येश्य रहेको बताउनुहुुन्छ । एसइई उतिर्ण भएपछि आफुलाई स्थास्थ्यले साथ दिएमा १२ कक्षा सम्म पढने धोको भएको उहाँको भनाई छ । शरिरमा ठूला रोग नभएपनि केही समय यता आँखा कमजोर हुंदै गएकोले भविष्यमा पढ्न रोकिने होकी भन्ने चिन्ता शान्तामा देखिन थालेको छ ।

महादेवस्थान मा.वि का प्रअ केशव रुपाखेतीले आमा स्कुलमापढ्न आउँदाकक्षानै खुब रमाइलो हुने र केहि शिक्षकलाई आफुले घरमानै आमासँगै पढाउनपाएको जस्तो अनुभूतिगर्ने गरेको अनुभव सुनाउनु भयो ।

विगत २०६८ सालदेखी जनजागृति माध्यमिक विद्यालयमा सञ्चालित खुला शिक्षाका कारण २०० भन्दा बढि विभिन्न कारणले विद्यालय छाड्न बाध्यहुनुपरेका मानिसहरुको विद्यालय तहपार गर्ने राम्रो अवसर प्रदान गरेको छ । खुल्ला शिक्षाबाट एसइई उतिर्ण गरेका २० भन्दा वढिले विभिन्न योग्यता बमोजिमको रोजगारी समेत प्राप्त गर्न सफल भएको विद्यालयका पधानाध्यापक लावण प्रसाद फुयलले जानकारी दिनुभयो ।

खुला शिक्षामा अध्ययनगर्न कक्षा ८ उतिर्ण गरेको २ बर्ष पुरा भएको तथा १६ बर्ष भन्दा माथी उमेर भएको विद्यालय छाडेकाहरुले खुला शिक्षा मार्फत औपचारीक शिक्षामा जोडिन सक्ने प्रधानाध्यापक फुयलले वताउनुभयो ।