ब्रेकिङ समाचार

निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस हुन्छ: गृहमन्त्री लामिछाने

By धादिङ न्यूज

April 07, 2024

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताउनुभएको छ ।

आज निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताउनुभएको हो ।

उपप्रधानमन्त्री लामिछानेले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरू र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयो । आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद‍्मा पेस गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोग समक्ष राखेको उहाँले बताउनुभयो।

निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी संशोधन विधेयकका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग छलफल गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

बैठकमा निर्वाचन आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको पछिल्लो कामकारबाही बारे पनि उपप्रधानमन्त्री लामिछानेलाई ब्रिफिङ गर्नुभएको थियो ।