हाम्रो पालिका

क्रियाशील युवा पत्रकारको यो प्रयत्न धेरै प्रशंसनीय

By Dhadingnews.com

September 12, 2013

मिति ०७० भदौ २७ गते मित्र केशव अधिकारी धादिङ न्युज डटकम परिवार

बन्दको व्यापक सदुपयोग गर्दै भदौ २७ गते बिहान म धादिङ न्युज डटकममा घोत्लिएँ । धादिङका तपाइँहरू जस्ता उत्साही र क्रियाशील युवा पत्रकारको यो प्रयत्न धेरै प्रशंसनीय लाग्यो । यसले धादिङलाई दुनियाँसँग जोड्ने काम गरेको छ । धादिङका सामाजिक, राजनीतिक, आर्थिक, साहित्यिक एवम् सांस्कृतिक सर्न्दर्भहरूलाई पहिलो प्राथमिकतामा राखेर समाचार सामग्री प्रवाह भएको देख्दा र पढ्दा असाध्य खुसी लाग्यो । धादिङको हकमा बितेको ७-८ वर्षअघि मैले झण्डै झण्डै यसै किसिमको कल्पना गरेको थिएँ । धादिङको राजनीतिक, साहित्यिक र पत्रकारितासँग सम्बन्धित केही मित्रहरूसँग यस्तै प्रयत्न आरम्भ गर्न आग्रह गरेको थिएँ र आफ्ना तर्फाट सक्दो सहयोग हुने वचन समेत दिएको थिएँ । तर त्यो कुरा र प्रस्ताव त्यत्तिकै सेलाएको थियो । धादिङ न्युज डटकममा विचरण गर्दा मलाई आज आफ्नै सपना ढकमक्क भएर फुलिरहे जस्तो लाग्यो । केशवजी, तपाइँ र तपाइँको टिमलाई धेरैधेरै साधुवाद । सल्लाह र सुझाव दिन त सजिलो छ, तर लिनेलाई सुझाव कार्यान्वयन गर्न निकै सकस हुन्छ भन्ने कुराको भुक्तभोगी म स्वयम् पनि हुँ । तथापि मलाई धादिङ न्युज डटकममा समावेश गरिनु पर्ने सामग्रीहरू बारे केही सुझाव र सल्लाह दिन मन लाग्यो ।

१. संवाद वा यस्तै कुनै नाम दिएर एउटा स्तम्भमा धादिङको राजनीतिक, साहित्यिक, सांस्कृतिक आर्थिक वा व्यवसायिक क्षेत्रमा विशिष्ट किसिमको योगदान दिँदै आएका व्यक्तित्वहरूसँगको कुराकानी समावेश गरिनु पर्दछ । २. धादिङको माटोमा जन्मिएर कुनै पनि क्षेत्रमा राष्ट्रिय व्यक्तित्व निर्माण गरिसकेका व्यक्तित्वहरूको परिचयात्मक सामग्री राख्नु आवश्यक छ । यसमा जीवित र बितिसकेका दुवैलाई समेट्न सकिन्छ । ३. धादिङका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूका बारेमा जानकारी दिने किसिमका सामग्रीहरू क्रमशः समावेश गर्दै जानु पर्ला । ४. बहुविद जाति जनजातिको बसोबास रहेको धादिङ बहुसंस्कृति भएको जिल्ला पनि हो । दक्षिणी क्षेत्रमा रहेका चेपाङहरूको चेपाङ संस्कृति, मध्य क्षेत्रमा रहेका मगरहरूको मगर संस्कृति, उत्तरी क्षेत्रमा रहेका तामाङहरूको तामाङ्/शेर्पा संस्कृति, सदरमुकाम र आसपासमा रहेका नेवारहरूको नेवार संस्कृति, बुढी गण्डकी आसपासमा रहेका माझी वा कुमालहरूको संस्कृति लगायत भाषाभेष र सांस्कृतिक परम्परा प्रस्तुत गर्ने सामग्रीहरू पाठकहरूका साथै अध्ययन अनुसन्धाताका निम्ति रुचिपूर्ण हुन सक्छन् । ५. समसामयिक राजनीतिक, आर्थिक वा साहित्यिक विश्लेषणयुक्त सामग्रीका निम्ति सम्बन्धित कलमवाजहरूलाई आग्रह गरी सामग्री जुटाउने तर्फपनि विशेष ध्यान दिनुपर्ला । ६. धादिङ न्युज डटकम पढ्ने पाठकहरूले गरेका टिप्पणी र प्रतिक्रिया समाविष्ट हुने थलो खै त ? ७. समाचार सामग्रीहरूमा प्रयुक्त भाषा अझै परिस्कार गर्दै लैजानु पर्ला ।

केेशवजी, मैले केही सुझाव र सल्लाहहरू अघि सारेँ । राजधानीमा भएका साहित्यिक गतिविधी सम्बन्धी समाचार सहित धादिङसँग कुनै न कुनै रूपले सम्बन्ध जोडिएका सामग्रीहरू नियमित रूपमा सम्प्रेषण गर्ने वचनवद्धता जाहेर गर्दै….

नरनाथ लुइँटेल कलङ्की, काठमाडौं