कभर फोटो

नीलकण्ठ र वालमन्दिर माविमा एकीकृत पठनपाठन शुरु

By धादिङ न्यूज

April 22, 2024

धादिङबेसी,१० बैशाख, २०८१ । सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ मावि,  वालमन्दिर मावि र इजारा आविले मंगलबार देखि एकीकृत पठन पाठन शुरु गर्ने भएका छन् ।

नीलकण्ठ नगरपालिकाले नगरक्षेत्र भित्र निःशुल्क शिक्षाको अवधारणा संगै सदरमुकाममा रहेको नीलकण्ठ मावि, वालमन्दिर मावि र इजारा आविलाई एकीकरण गरी एउटै बिद्यालयका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाको सोही निर्णय अनुसार अब कक्षा १ देखि ५ सम्मको पढाई बालमन्दिरमा र कक्षा ६ देखि १२ सम्मको पढाई नीलकण्ठ माविमा सञ्चालन हुने भएको छ । अर्को व्यवस्था नहुंदा सम्म इसिडि कक्षा नीलकण्ठ माविमै सञ्चालन हुने गरी नयाँ शैक्षिक सत्रको पठन पाठन शुरु गर्न लागिएको बिद्यालयले जनाएको छ । मर्ज पछि खाली हुन पुगेको इजारा आधारभूत बिद्यालयको भवनमा अहिले तत्काल कुनै कक्षा संञ्चालन नभएपनि छिट्टै ति भवनमा कक्षा ११/ १२ को प्राविधिक बिषय तर्फका ल्याव स्थापना गर्ने तर्फ योजना बनेको नीलकण्ठ नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

यस अघि इजारामा पढिरहेका बिद्यार्थीलाई नीलकण्ठ माविका पुराना बिद्यार्थीसंगै नीलकण्ठ माविको बसले आवात जावत गराउने भएको छ । बालमन्दिर मावि नीलकण्ठमा गाभिने निर्णयका बिरुद्ध विरोध जनाउँदै केही दिन अघि सदरमुकाम धादिङबेसीमा प्रदर्शन समेत गरिएको थियो । विरोधमा उत्रिएको समूहले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

नीलकण्ठमा कक्षा ११ र १२ को पढाई बिहान सञ्चालन हुंदै आएकोमा नयाँ भर्ना पछि दिउँसो कक्षा सञ्चालन गर्ने गरी तयारी भईरहेको बिद्यालयले जनाएको छ ।