कभर फोटो

एमाले नेता महेश बस्नेत बिरुद्धको मुद्धा तामेलीमा

By धादिङ न्यूज

April 23, 2024

काठमाडौँ, १२ वैशाख । नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री  महेश  बस्नेत विरुद्ध लगाईएको भ्रुण हत्या, जवर्जस्ती करणी र डाँका चोरीे आरोप झुठो ठहरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जाहेरी कर्ता शोभा पाठक (जानुका) ले पेश गरेका कागजातहरुनै नक्कली भएको अनुसन्धानबाट खुलेपछि बस्नेत बिरुद्ध लगाईएको आरोप पुष्टि हुन नसक्ने आधार पेश गरी मुद्धा तामेलीमा राख्ने निर्णय गरेको हो ।

महेश बस्नेतविरुद्ध चैत्र ७ गते नै हुलाकमार्फत जाहेरी परेको थियो । जाहेरीमा बस्नेतले २ महिना १५ दिनको भ्रुण हत्या गराएको आरोप समेत लगाईएको थियो ।

जाहेरीमा भ्रुण हत्याका लागि औषधी सेवन गराएको र अप्रेसन गरिएको आरोप लगाउँदै बस्नेतलाई मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत कारबाही गर्न माग गरिएको थियो ।

नेकपा एमालेका अध्यक्ष ओलीका विश्वासपात्र मानिने बस्नेत शुशिल कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनेका थिए ।

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य समेत रहेकी ति पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा  ‘भ्रुण हत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्धा दर्ता गरेकी थिइन । प्रहरी परिसर टेकु, काठमाडौँले २१ दिन लगाएर मुद्धामा पेश गरिएको कागजात अध्ययन तथा अनुसन्धान गर्दा मुद्धा नचल्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । सरकारी वकिल कार्यालय काठमाडौँल मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम े २०८१ वैशाख ४ गते मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेको हो ।

बिबाह कपिल शाहीसंग भ्रुणहत्याको आरोप महेशलाई

जाहेरीकर्ता पाठकले आफु र महेश बस्नेत विगत ५ वर्षदेखी लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनि आरोप लगाएकी थिइन । सो आरोपका बारेमा अनुसन्धान गर्दा जाहेरीकर्ता महिलाले २०८० बैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा बैबाहिक सम्बन्ध कायम गरेको खुलेपछि २ पटक गर्भपतन गराएको भन्ने आरोप कस्को हो भनेर एकिन गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

मेघा र चरक अस्पतालको को नाममा  नक्कली कागजात

मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनि पाठकले दावी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनि खुल्न आएको देखिदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेश गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा बनाएको खुल्न आएको छ ।

साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन जाहेरीवाला पाठकले अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुठो रहेको पत्र अस्पतालले प्रहरीलाई पठाएको छ ।

२०७२ पौष मा स्थायी बन्ध्याकरण , २०८० सालमा गर्भबोकाएको आरोप 

पाठकले महेश बस्नेतले आंफुलाई करणी गरी गर्भ बस्न गएको भन्ने आरोप सहितको उजुरी दिएपछि त्यस बिषयमा अनुसनधान गर्दा बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गरेको पुष्टि भएको छ । भक्तपुर अस्पतालले प्रहरीलाई पठाएको मिति २०८० चैत २७ गतेको जवाफी पत्रमा आ।व २०७२/७३ को अस्पतालको मुल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पौष २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गरेको देखिएको व्यहोरा प्रमाणीत गरि अस्पतालको मुल दर्ता रजिष्टर समेत पत्र संगै पठाएको छ । जाहेरीकर्ताको आरोप पुष्टि हुन नसकेपछि सरकारी वकिल कार्यालय मुद्धा नचलाउने निष्कर्षमा पुगेको हो ।

कुटपिटमा संलग्न भनिएको समयमा पार्टीको केन्द्रिय बैठकमा सहभागी

प्रहरी वृत नयाँबानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा पाठक बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरु संलग्न राखी सरकारी वकिल कार्यालयमा पठाइएको छ । जोहरीकर्ताले घटना भएको भनिएको दिनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटव्युरो सदस्य बस्नेत उपस्थित रहेको व्यहोराको पत्रको हाजिरीको प्रतिलिपी एमाले केन्द्रीय कार्यालयले सरकारी वकिल कार्यालयलाई पठाएको छ । जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा बस्नेत संलग्न रहेको भनि गरेको दावी समेत पुष्टि हुन नसकेपछि सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ ।

 बस्नेत र झा  काठमाण्डौंको अर्पामेण्टमा भएको  दावी झुठो

पाठकले मंसिर ७, ८ र ९ गते बस्नेतले आफुलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरुमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनि दावी गरेको सन्दर्भमा अनमोल बस्नेत मंसिर ७ गते युवा संघको कार्यक्रममा सहभागि भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको अनुसनधानबाट खुलेको छ ।सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत टिकट नं. १८४७११९० बाट सन २३ नोभेम्बर २०२३ मिति २०८०/०८/०७ गते १५ः५० काठमाडौँदेखी पोखरा र टिकेट नं.१८४७१२५० बाट सन २५ नोभेम्बर २०२३ मिति २०८०/०८/०९ गते पोखरादेखी काठमाडौँको गन्तव्यको लागि उडान गरेको देखिन आएको एयरलाईन्सले प्रमाणीत गरेको छ ।

साथै ९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११ः३० को फ्लाईटबाट काठमाडौँबाट जनकपुर गएका देखिएको छ । सो मितिमा २०८० चेत २५ गतेको पत्रको जवाफमा कम्पनीको रेकर्ड अनुसार सञ्जिव कुमार झाले खल्ति एप्सबाट यति एयरलाईन्सको टिकट नं। ९९९२१०८०९७१३४ काटी सन् २५ नोभेम्बर २०२३ ९मिति २०८०/०८/०९० गतेका दिने ११ः३० बजे नेकपा (एमाले) पार्टीको परिचयपत्र देखाई वाईटी ५७१ फ्लाईट नम्बर मार्फत काठमाडौँबाट जनकपुर यात्रा गरेको देखिन्छ । जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनि जोहेरी दरखास्तमा दावी गरेको व्यहोरा झुटो ठहरिएकोले रिट निवेदन तामेलीमा राख्ने निर्णय भएको भनिएको छ ।

नक्कली भिडियो बनाउने युट्युबर पुगे प्रहरी खोरमा

युट्युवर मनोज मानवले सार्वजनिक गरेको जाहेरीकर्ता पाठक र महेश बस्नेतको टिकटकमा पाठकले नै साईवर व्युरोमा दिएको उजुरीमा आफ्नो भिडियोमा आएको दृष्य जस्तो सम्बन्ध नभएको उल्लेख गरेकी थिइन् । मनोजले इडिट गरी भिडियो बनाएको भन्दै कारवाहीको माग गर्दै पाठकले उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा साइवर व्युरोले मनोजलाई कारवाही समेत गरेको थियो । उक्त भिडियो एआईको माध्यमबाट इडिट गरी चरित्र हत्या गरिएको प्रमाणीत भएको थियो । थुनामा परेका मनोज १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

विवाह तीन जना संग, वडा बाट मिल्यो अविवाहितको सिफारिश

बस्नेत बिरुद्ध जाहेरी दिएकी पाठकले अहिले सम्म तीन जनासँग औपचारिक रुपमा  तीन जनासँग विवाह गरे पनि उनले ज्वालामुखी गाउँपालिका वडा नं. ७ बाट आफु कुमारी भएको पत्र समेत लिएकी छिन् । धादिङको ज्वालामुखी गाउँपालिका ७ का वडाध्यक्ष ज्ञानेन्द्रप्रसाद खकुरालले, पत्र सङ्ख्या ०७९्/८० र चलानी नम्बर ५५६ मा बनाइदिएको सिफारिसमा ‘ अविवाहित रहेको ब्यहोरा प्रमाणित गरिन्छ’ भनिएको छ ।

पाठकले लिएको  सिफारिस जिल्ला अदालतमा काठमाडौंमा समेत पेश भएको भेटिएको छ । जुन गैरकानुनी समेत हो । झुठो सिफारिस बनाउने र सिफारिस गर्ने दुवैलाई कारबाही हुने कानुनी व्यवस्था छ । मुलुकी फौजदारी संहितामा झुटो विवरण सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र एक लाखदेखि तीन लाखसम्म जरिवाना गर्ने व्यवस्था छ ।

शोभाले भने आफूले अविवाहित सिफारिस लिएको र प्रयोग गरिरहेको स्विकारेकी छिन् । छोडपत्र गरेर एकल भएपछि अविवाहित सो सरह हुने भएकाले सिफारिस बनाएको उनको जिकिर छ ।

नागरिकतामा जन्म मिति नै फरक फरक 

२०४३ सालको जन्ममिती भएको सरकारी ढड्डा भएता पनि शोभाको नागरिकतामा भने २०४९ साल उल्लेख भएको छ । २०७२ मा लिएको नागरिकतामा जन्म मिति २०४३ उल्लेख थियो । जुन जिल्ला प्रशासन कार्यालय धादिङको ढड्डामा लेखिएको छ ।उनले नागरिकता हराएको भन्दै २०७५ कात्तिक ९ गते नागरिकताको प्रतिलिपि लिइन् । त्यो बेलामा उनले नागरिकताको प्रतिलिपिमा महिना र गते उही राखेर साल मात्र फरक लेखाएकी छिन् । जसमा ६ वर्ष उमेर घटाएर २०४९ जन्म मिति कायम गरेकी छिन् ।‘नेपाल नागरिकता २०७९’ अनुसार नागरिकता किर्ते गर्नेलाई तीन वर्षदेखि पाँच वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ । उनको कसुर ठहर भएमा सोही सजाय आकर्षित हुनसक्ने जानकार बताउँछन् ।

शोभाले लिएको प्रतिलिपि नागरिकतामा जन्म मिति २०४९ साल छ । जुन उनले अहिले प्रयोग गर्दै आएको नागरिकता हो । प्रतिलिपि लिनुअघि २०७५ अघि भने २०४३ जन्म मिति रहेकै नागरिकता प्रयोग गर्दै आएकी थिइन् ।

जिल्ला प्रशासन कार्यालयको ढड्डामा भने जन्म मिति २०४३ नै छ । प्रतिलिपि लिएको रेकर्डमा ‘पतिको नाम हटाइ ठेगाना ज्वालामुखी वडा नम्बर ७ कायम गरिएको’ भनेर ढड्डामा उल्लेख गरिएको छ ।

जाहेरीकर्ता शोभाले पहिलो विवाह साविक चैनपुर गाविसका छत्कुली थरका युवक संग गरेकी थिईन । छत्कुलीको दुर्घटनामा परेर मृत्यु भएपछि धादिङकै साविक खरी गाविस घर भई सदरमुकाम धादिङबेसी बस्दै आईरहेको नेपाली सेनाबाट निबृत  शिवराम भण्डारीसँग २०७० भदौ ११ गते दोश्रो विवाह गरेकी थिइन् । २ वर्षपछि उनले बिहे दर्ता गरेर  नागरिकता लिएकी थिइन् । पछि भण्डारीसँग सम्बन्ध छुटेपछि पतिको नाम हटाएर प्रतिलिपि नागरिकता लिएकी हुन् ।