ब्रेकिङ समाचार

सहकारी सञ्चालकको सम्पत्ति रोक्का गरेर पीडितहरुको रकम फिर्ता गर्छौ: रवि लामिछाने

By धादिङ न्यूज

April 26, 2024

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पत्ति रोक्का गरेर पीडितहरुको रकम फिर्ता गर्ने बताउनुभएको छ ।

आज शुक्रबार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पती रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताउनुभयो । उहाँले अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको भन्दै उहाँले कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पत्तिलाई बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने बताउनुभयो । उहाँले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताउनुभयो । उहाँले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगि गरेका मानिसहरुको सम्पत्ति रोक्का गरेर त्यसबाट पीडितहरुलाई न्याय दिने क्रमको शुरुवात हुने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सहकारीको पैसा ठगेका र हाल सो पैसा तिर्छु भन्नेहरुका लागि पनि पैसा तिर्ने अवसर दिनुपर्ने बताउनुभयो ।