कभर फोटो

राजमार्गमा अबरोध नआउने गरी काम गर्न धादिङका प्रजिअ पाण्डेको निर्देशन

By Dhading News

June 07, 2024

धादिङ , २५ जेठ । राजमार्ग निर्माण स्थलमा यात्रुलाई सास्ती हुने काम नगर्न धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले सरोकारवालाहरुलाई निर्देशन दिनुभएको छ ।

देशका ६७ जिल्लाका साथै छिमेकी देश भारतबाट स्थलमार्ग हुंदै नेपालको राजधानी प्रवेश गर्ने मुख्य सडक पृथ्वीराजमार्गमा यति बेला सडक स्तरोन्नतीको कार्य भईरहेको छ । सडक स्तरोन्नतीको काम भईरहँदा केही समय यता धादिङमा राजमार्गमा घण्टौं सम्म सवारी जाममा पर्ने कार्यले हजारौं यात्रुले सास्ती खेपिरहेका छन ।

धादिङको मलेखु नागढुङ्गा क्षेत्रमा सडक फराकिलो बनाउने काम भईरहँदा राजमार्गमा यात्रुले सास्ती खेप्नु परेको जनगुनासो बढेसंगै प्रमुख जिल्ला अधिकारी पाण्डेले निर्माण कम्पनी र सडक विभागका प्रतिनिधिलाई सडक आवागमममा अवरोध नपुग्ने गरी काम गर्न निर्देशन दिनु भएको हो ।

नागढुंगा नौबिसे, मलेखु मग्लिन सडक स्तरोन्नतीको काममा ठेक्कामा भनिए अनुसार नियमित यातायात संचालन हुनेगरि निर्माणको काम हुनुपर्नेमा कुनै पनि बहानामा कहीँ कतै अवरोध भएमा र यात्रुले सास्ती पाएमा समस्या उत्पन्न गराउनेलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताउनु भएको हो । राजमार्ग निर्माणको क्रममा धेरै जसो ट्राफिक संकेतहरु पुरै नष्ट भएको, बाँकी रहेका पनि संकेतनै नदेखिने भईसकेको कारण दुर्घटना हुने गरेको र यस महिनामा मात्रै ट्राफिक संकेत नभएकै कारण ७ ओटा दुर्घटना हुन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठले बताउनु हुन्छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले बुधवार राजमार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनी, सडक विभागका इन्जिनियर, आयोजना हेर्ने कर्मचारी लगायत ट्राफिक प्रहरी, नेपाल प्रहरी समेतको सहभागितामा सर्वपक्षिय बैठक आयोजना गरेर सातदिनभित्र विग्रीएको संरचना बनाउन र राजमार्गमा हुने अवरोध तत्काल हटाउन निर्देशन दिनु भएको हो ।

सडक निर्माणको क्रममा भएको खाल्डाखुल्डी पुर्ने र सम्याउने, बैरेनी गल्छीमा पानी पर्नासाथ हुने सडक जाम हटाउन पानी कटाउने, तत्काल ग्राभेल हालेर सम्याउने र  सडकमा हुने हिलो समेत हट्ने वातावरण बनाउने, सडक सुरक्षाका लागि आवस्यकता अनुसार ट्राफिक संकेतहरु ट्राफिक प्रहरीको सल्लाह अनुसार राख्ने र सडकमा  पहिरो जाने सम्भावित ठाउँहरु पहिचान गरि उपकरणहरु र चालकहरु आवस्यकता अनुसार परिचालित हुनसक्नेगरि बस्ने व्यवस्था मिलाउन प्रजिअ पाण्डेले सरोकारवालालाई निर्देशन दिनु भएको छ ।

सडक निर्माण गर्दा भएको दुखले गर्दा हरेक दिनजसो यात्रुहरु जाममा पर्ने, प्रहरी सडकमा उभिनु परेको र निर्माण कम्पनीले वेवास्ता गर्दा समस्या झेलेर दुखपाइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेको गुनासो छ ।

सवारी चालकले लेन अनुसासन कायम गर्नु पर्ने नगरेमा प्रचलित कानून अनुसार कारबाही गरिने, सडक जाम भएको समयमा लेन अनुसासन कायम नगर्ने पटके समेत भएका चाललाई प्रचलित कानून बमोजिम पक्राउ गरेर हिरासतमा राखि कारबाही गर्नुपर्ने, यात्रुलाई अन्य सवारी खोजेर पठाउने र यसबापतको खर्च कारबाही गरिएका चालकले तिर्नुपर्ने व्यवस्था गर्न प्रहरीलाई सचेत गराईएको छ ।

बैठकले राजमार्ग निर्माणको काम भईरहेकाले धादिङ जिल्लाको राजमार्ग भएर यात्रा गर्ने हरेक यात्रुले भरपर्दो सूचना लिएर मात्र यात्रा गर्न, यात्रुलाई संयमित हुन, ट्राफिक प्रहरीको निर्देशन पालना गर्न यात्रु र सवारी चालकलाई आग्रह गरेको छ । वर्षा शुरु भईसकेकाले राजमार्ग अवरुद्ध हुनेगरि निर्माण कार्य नगर्न समेत निर्देशन दिँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले आवस्यक र गर्नै पर्ने काम नगरेका कारण राजमार्ग बन्द भएमा निर्माण कम्पनीलाई समेत प्रचलित कानून बमोजिम कारबाही गर्ने बताउनु भएको छ ।