ब्रेकिङ समाचार

मधेशको मुख्यमन्त्रीका लागि जनमतका सतिशकुमार सिंहको दाबी पेश

By Dhading News

June 07, 2024

काठमाडौं । मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीबाट सांसद सतिशकुमार सिंहले दाबी पेश गर्नुभएको छ ।

आज शुक्रवार बिहान गठबन्धनका दलहरुबीच सहमति जुटेसँगै उहाँले दाबी पेश गर्नुभएको हो । उहाँले ५५ जना सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको हो ।

१०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । त्यस्तै संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक÷एक सांसदहरुले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन् ।

दलहरुबीच भएको सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ । नेकपा माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा एसलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा तथा सिँचाइ मन्त्रालय दिने सहमति भएको छ ।

त्यस्तै जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ । १–१ सिटको नेपाल संघीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानून र नगरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ । मुख्यमन्त्री सिंहले आज सवा १२ बजे शपथग्रहण गर्नुहुनेछ ।