अर्थ/शेयर बजार

नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको अर्थमन्त्री पुनको भनाइ

By Dhading News

June 11, 2024

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा आज मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले तीन खम्बे अर्थनीति कस्तो हुन्छ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी नीीत स्पष्ट गर्ने बताउनुभयो ।

अर्थमन्त्री पुनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताउनुभयो । उहाँले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरु स्वदेशमै काम गर्ने वातावरण बन्ने बताउनुभयो ।

अर्थमन्त्री पुनले भन्नुभयो, ‘हामीले अहिले प्रश्ताव गरेको नयाँ चरणको आर्थिक सुधार गर्दैछौँ । त्यसको लागि काम गर्छौं । राजनीतिक नेतृत्व स्पष्ट छ, कति मान्छेले भन्छन् नि विज्ञ राखेर, केही टेक्निकल मान्छेहरुले नीति बनाइदिएको होइन । नेतृत्वको भिजन, दृष्टिकोण चाहिन्छ यसमा । हामी स्पष्ट छौँ, तीन खम्बे अर्थनीति हुनेछ, निजी क्षेत्र त्यसमा अगाडि रहनेछ ।’

मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भएपनि नीतिहरुको निरन्तरता हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारमा रहेका दल र विज्ञहरु राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रश्तुत गर्ने बताउनुभयो ।