कभर फोटो

निर्माण शुरु भएको सात बर्ष बित्दा पनि बनेन आरुवासटार -रातमाटे जोड्ने पुल

By Dhading News

July 05, 2024

केशव अधिकारी

धादिङ,२१ असार । धादिङ जिल्लाको वेनिघाटरोराङ गाउँपालिकाको रातमाटेबाट र सिद्धलेक गाउँपालिकाको आरुवासटार जोड्ने गरी २०७५ सालमा निर्माण सम्झौता भएको त्रिशूली नदी माथिको पक्की पुल ७ बर्ष सम्म निर्माण सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेको हो । सात वर्ष बितिसक्दा पनि पुल निर्माणकार्य अधुरै रहेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु र सिद्धलेक गाउँपालिका वडा नं ४ आरुवासटार जोड्ने गरी पुल निर्माणको ठेक्का महाविर नीलगिरी नेसनल जेभीले लिएको थियो। समयमा नै काम नगरिदिँदा पुल निर्माणको काम अलपत्र बनेको छ। कुल १४ करोड लागतमा निर्माणको जिम्मा लिएको यो पुलको लम्वाई १ सय ४० मिटर लामो रहनेछ । २०७५ साल जेठ २८ गतेसम्झौता भएको यो पुलको २०७५ पुस ३० गते धादिङ क्षेत्र नम्बर १ का तत्कालिन सांसद भूमी प्रसाद त्रिपाठीले शिलान्यास गर्नु भएको थियो । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०७७ जेठ २७ रहेको भएपनि अहिले सम्म पुल निर्माणको काम अधुरै रहेको सिद्धलेक गाउँपालिका वडा नम्बर–४ का पूर्व अध्यक्ष रामहरि बराकोटी बताउनुहुन्छ । नेपाल सरकार प्ुल आयोजना सेक्टर नम्बर २ ललितपुरले ठेकेदार मार्फत निर्माण अघि बढाएको यो पुलको मलेखु रातमाटे तर्फ पिल्लर निर्माण भईसकेको छ भने आरुवासटार तर्फ पिल्लरको जग हाल्ने काम भएको छ । बिचमा एउटा रिङ जग हाले पनि अन्य काम हुन सक्दा निर्माणाधिन पुल अलपत्र अवस्थामा रहेको छ । पुल नहुँदा यहाँका स्थानीयले बर्षौ देखि झोलुङ्गे पुलबाट लामो बाटो घुमेर आवातजावत गर्दै आईरहेका छन् । ठेकेदारको चरम लापरवाहीले निर्माण सम्झौताको म्याद सकिँदा पनि काम पूरा नभएपछि स्थानीयले पटक पटक भेटेर ठेकेदारको ध्यानकर्षण गराउँदा पनि उनिहरुले निर्माण कार्यमा वेवास्ता गर्दै आएको पूर्व वडा अध्यक्ष बराकोटीले वताउनु भयो । ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन् । पुल बनाउने जिम्मा लिने ठेकेदारहरुमा महाविरका अनिल गुप्ता, नीलगिरीका युवराज डाँगी र नेशनलका इन्द्र गिरी रहेका छन् । राजधानी काठमाडौँ आवातजावत गर्ने मुख्य सडक पृथ्वीराजमार्गको छेवैमा निर्माण सुरु गरिएको पुलको कामले भने गति लिन नसकेको भएपनि सरकारी निकायको खासै ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । गाउँमा उत्पादित खाद्यन्न तथा तरकारी बजारसम्म ल्याउन स्थानीयले निकै समस्या भोग्दै आइरहेका छन् सरकारले काममा लापरवाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्न नस्कदा पु्ल निर्माणको काम अधुरो हुन पुगेको हो । वर्षौँदेखि पुल निर्माण अधुरै छाडेका ठेकेदारले विभिन्न बहाना बनाएर म्याद थप गर्दै आएका छन् ।