कभर फोटो

निवुवाबोटे हत्या घटनाका आरोपित सरस्वतीलाई ७ बर्ष, छोरा नीरज लाई जन्मकैद फैसला

By Dhading News

July 09, 2024

धादिङ, २५ असार । धादिङको गल्छी –८ निवुवाबोटेमा विनोद थापा मगरको हत्यामा संलग्नहरुलाई जिल्ला अदालतले कसुर कायम गर्दै जन्मकैद र ७ वर्ष कैद गर्ने फैसला गरेकाे छ ।  हत्यामा मुख्य कसुरदार ठहरिएका २८ वर्षीय निरज पंडितलाई जन्मकैद  र  हत्यामा सहयाेग गरेकाे कसुरमा हाेटल संचालक ४८ वर्षीया सरस्वती पनेरुलाई ७ वर्ष कैद गर्ने फैसला गरिएकाे छ । हत्याको फैसला संगै सरस्वती लाई मानव बेचबिखनमा  १०  वर्ष कारागार सजायको फैसला पनि गरिएको छ । सरस्वती र निरज आमा छोरा हुन ।

होटल सानदारमा खाजाखान आएका थापामगरसंग अन्य २ जना पनि थिए उनिहरुले खाजा खाएपछि होटल संचालक सरस्वतीलाई पैसा दिए । १ हजार १ सय रुपैयाँ पैसा तिर्नुभएपछि दिइएको १ हजार ५ सयबाट ४ सय रुपैयाँ फिर्ता लिनेक्रममा भनाभन भएपछि छोरा निरजलाई बोलाएर छुरा हानि माेटरसाईकलले समेत हानि हत्या गरेका थिए । विनोदलाई २०८० बैशाख २७ गते राति निरज सहितको टोलीले धारिलो हतियार प्रहार गरी घाईते वनाएकोमा उपचारका क्रममा २८ गते विहान मृत्यु भएको थियो ।

धादिङ जिल्ला अदालतकि न्यायाधीश गिता श्रेष्ठको इजलाशले निवुवाबोटे हत्या घटनाका आरोपित सरस्वती पनेरु पण्डित, निजको छोरा नीरज पण्डितलाई जेल सजायँको फैसला सुनाएको हो । २०८१ असार २५ गते भएको फैसलामा नीरज पण्डितलाई जन्म कैद र उनकी आमा सरस्वतीलाई हत्याको अभियोगमा ७ बर्ष र मानव बेचबिखनको अभियोगमा ७ बर्षको जेल सजाय सुनाएको हो ।

सरस्वतीले गल्छी ८ निवुवाबोटेमा संचालन गरेको शानदार होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा गल्छी गाउँपालिका वडा नम्बर ८ कटवालपौवाका २७ बर्षिय विनोद थापा मगरलाई निरज  र सरस्वती  समेतले कुटपिट तथा छुरा प्रहार गर्दा गम्भिर घाईते भएपछि उपचारका लागि काठमाण्डौंं लगिएकोमा उपचारकै क्रममा नर्भिक अस्पतालमा २०८० बैशाख २८ गते बिहान विनोदको मृत्यु भएको थियो ।

धादिङ जिल्ला अदालतको २०८० जेठ २४ गतेको थुनछेक आदेशले सरस्वती, छोरा निरज र निरजका साथी पाल्पा जिल्ला तानसेन नगरपालिका-१४ का किरण राना समेत तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएकोमा उच्च अदालतको आदेशबाट किरण धरौटीमा थुनामुक्त भएका थिए । सरस्वती र निरज भने पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखिएका थिए ।

शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि मृतक थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धी गराई मानव बेचबिखन गरेको कसुर समेत लागेको थियो ।

हत्याको बिषयलाई लिएर आक्रोशित स्थानीयले पण्डितको होटलमा तोडफोड र आगजनीको प्रयास गर्दै  निजी सवारीमा आगजनी गरेर गल्छी त्रिशूली सडक वन्द गरी आन्दोलन समेत गरेका थिए ।