कभर फोटो

बर्षायाममा नाइरोबी फ्लाईले बढाउने संक्रमणबाट कसरी बच्ने

By Dhading News

July 10, 2024

धादिङ, २६ असार । बर्षायामको बेलामा मानिसको शरिरमा देख्दै डर लाग्ने गरी जनै खटिराजस्तो फोका आउने,  छाला रातो हुने, धेरै पोल्ने, रातो डाबर तथा बिमिरा आउने जस्ता लक्षण देखिएर मानिसहरु विरामी परेमा नाइरोबी फ्लाइ जातको किराको संक्रमणको कारण यस्तो हुने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन ।

यो किरा मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कने गर्दछ । यसरी निस्कने रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । केही गरी यि किरा शरिरमा भेटिएमा हातले फाल्न नहुने धादिङ अस्पतालमा कार्यरत डा.राम रिजाल बताउनुहुन्छ । किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने कुनै किसिमको सङ्क्रमण नहुने उहाँको भनाई छ ।

किरालाई थिच्दा त्यस्को शरिरबाट निस्कले रसमा भएको एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने डा. रिजालले जानकारी दिनुभयो ।

डा. रिजालका अनुसार उक्त किराको एसिड शरीरमा बढी फैलिएको छ भने ज्वरो, स्नायु दुखाइ, जोर्नी दुखाइ वा वान्ता समेत हुन सक्छ र थप गम्भीर सम्म बनाउनसक्छ ।

उक्त किरा एसिडको संक्रमणबाट जनै खटिराजस्तो फोका आउने, ठूलो खालको पानी फोका आउने, छाला रातो हुने, धेरै पोल्ने, रातो डाबर तथा बिमिरा आउने जस्ता लक्षण देखिन्छन् । त्यसैगरी, उक्त संक्रमित एसिड हात आँखामा रगड्दा सम्भावित रूपमा अस्थायी अन्धोपन हुन सक्छ ।

लक्षण देखिएका मध्ये पनि धेरैलाई आफैँ सञ्चो हुने र सञ्चो नभए नजिकैको स्वास्थ्य सस्थामा उपचारका लागि जानुपर्ने हुन्छ । प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा यस्तो किराको जोखिम हुने गर्छ ।

उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।

उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।

डा.रिजाल का अनुसार ‘बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन’,  ‘किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोवोस् भनेर ध्यान दिनु पर्छ ।’

यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने रिजालको सुझाव छ ।