कभर फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

By Dhading News

July 14, 2024

काठमाडौँ-३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

ओली चौथो पटक प्रधानमन्त्री बन्नु भएको हो ।  उहाँ पहिलो पटक २०७२ असोज २५ गते ,दोस्रो पटक २०७४ फागुन ३ गते र   तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिरामचन्द्र पौडेलले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो। सो आह्वान लगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

ओलीको शपथग्रहण भने भोलि (सोमबार) मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ।

गत असार १७ गते कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्न सहमति भएको थियो।