कभर फोटो

धादिङका रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास मन्त्री नियुक्त

By Dhading News

July 15, 2024

धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्नु भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्री बन्नु भएको हो ।

अधिकारी धादिङका पुराना कांग्रेस नेता हुन् ।  अधिकारी सादा जीवनशैलीका कारण पनि लोकप्रिय छन् ।

रामनाथ अधिकारीको राजनैतिक ईतिहास रामनाथ अधिकारी कांग्रेस माओवादीको गठबन्धनबाट निर्वाचित धादिङका संघीय सांसद हुन् । प्रजातान्त्रिक आन्दोलनमा लाग्दा पटक–पटक जेल सजाय भोगिसकेका अधिकारी कांगे्रस धादिङको जिल्ला सभापति हुन् । धादिङको सुनौलाबजार नेवारपानीमा २०१८ साल भदौ १८ गते जन्मिएका उनी २०३६ सालको जनमतसंग्रह, २०४२ को सत्याग्रहमा कांग्रेसबाट सक्रिय रूपमा सहभागी भएका थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन उनी २०४५ साल वैशाख ६ गते गिरफ्तारी समेत भएका थिए । २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि राजनीतिमा थप सक्रिय भएका उनी आठौँ अधिवेशनमा कांग्रेस धादिङको कार्यसमिति सहसचिवमा निर्वाचित भए । त्यसपछि २०५३ सालमा नवौँ अधिवेशनमा जिल्ला सभापतिको प्रत्यासी थिए । तत्कालीन जिल्ला सभापति दामन पाख्रिनको २०५४ कात्तिक २६ गते निधन भएपछि जिल्ला नेतृत्वविहीन भयो । नवौँ अधिवेशनमा सभापतिको प्रत्यासी रहेका अधिकारी नै थप अवधिका लागि सभापतिमा बने ।

२०५६ सालमा भएको आमनिर्वाचनमा उनले धादिङ २ नम्बर क्षेत्रबाट सांसदको टिकट पनि पाए । दुई पटकसम्म चुनाव जितेका नेकपा एमालेका उम्मेदवार गंगालाल तुलाधरलाई हराउँदै सांसद बने । तत्कालीन अवस्थामा धादिङमा ३ निर्वाचन क्षेत्र थिए । कांग्रेस धादिङको पाँच पटकसम्म जिल्ला सभापति बनेका अधिकारीले यसअघि २०५५, २०५७, २०६२, २०६७ र ०७८ सालमा सभापति भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा धादिङ क्षेत्र नं. २ बाट चुनावी मैदानमा थिए । सो निर्वाचनमा उनले पराजय व्यहोरे । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले पराजय व्यहोरे । त्यसपछि २०७९ मंसिरको चुनावमा नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई पराजित गर्दै संघीय सांसदमा निर्वाचित भएका थिए ।