कभर फोटो

नीलकण्ठ नगर प्रहरी प्रमुख माथि जिल्ला प्रशासन कार्यालयको छाप दुरुपयोगको आरोप

By Dhading News

July 22, 2024

धादिङ ,७ साउन २०८१ । धादिङको नीलकण्ठ नगरपालिकाको नगर प्रहरीका प्रमुख तेज बहादुर लामिछानेलाई जिल्ला प्रशासन कार्यालयको छाप दुरुपयोग गरेको आरोप लागेको छ ।

 आइतबार बिहान कार्यालय नखुल्दै जिल्ला प्रशासन कार्यालयको ९ नंम्बर कोठामा रहेको नागरिकता प्रतिलिपी फाँटमा  अनधिकृत रुपमा   प्रवेश गरी कार्यालयको छाप  अनुमति विना प्रयोग गरेको आरोप  लामिछानेमाथि लागेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार फाँटका कर्मचारीहरु हाजिर हुन नभ्याँउदै कागजमा छाप हानिरहेको देखेपछि प्रशासनका एक जना कर्मचारीले तत्काल सहायक प्रमुख जिल्ला अधिकारीसहित कार्यालयका अधिकृतहरुलाई खबर दिएका थिए ।

सोधपुछका क्रममा पासपोर्ट बनाउने लाइन बस्नको लागि प्रशासन कार्यालयले सेवाग्राहीलाई दिने टोकनमा छाप लगाएको भनिएपनि लामिछानेले अरु के कागजमा छाप लगाए यकिन हुन नसकेको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका कुनै कर्मचारी संग समन्वय नगरी दुई वटा कागजमा छाप लगाईरहेको देखेपछि कार्यालयका कर्मचारीले सोधीखोजी गर्दा ‘म को हो ? चिनेको छ ?’ भन्दै कुमले धकेल्दै लामिछाने कोठाबाट निस्किएको प्रशासनका कर्मचारीले बताए ।

आइतबार विहान करिब साढे ९ बजे जिल्ला प्रशासन कार्यालय भवनको मुल ढोका नखुल्दै पछाडि पट्टीको ढोकाबाट भित्र प्रवेश गरेका लामिछानेसँग एक जना महिला पनि साथमा रहेको बताइएको छ । कार्यालयको सिसिक्यामेरा फुटेजमा पनि उनी प्रशासन कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा प्रवेश गरी कागजमा छाप लगाएको प्रष्ट देखिन्छ ।

यस्तो कार्य गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को देहाय ‘ग’ को कसुरमा ‘घ’ बमोजिम सरकारी छाप दस्तखत किर्ते गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय र ५० हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।

‘कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्ता काममा प्रयोग हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफूसँग राख्नु हुँदैन’ मुलुकी अपराध संहिता २०७४ मा भनिएको छ तर लामिछानेले जिल्ला प्रशासन कार्यालयको नागरिकता, राहदानीलगायत महत्वपूर्ण कागजातमा प्रयोग हुने छाप सम्वन्धित कार्यालयको अनुमति वेगर प्रयोग गरेपछि विवादमा तानिएका हुन् । त्यसो त नीलकण्ठ नगर प्रहरी विवादमा तानिएको यो नै पहिलो घटना भने होइन, वजार क्षेत्रमा पार्किङको नाममा नगर प्रहरीले सर्वसाधरणलाई अनावश्यक दुःख दिने, गाउँबाट आएका किसानलाई डोकोमा बोकेर तरकारी फलफुल बिक्री गर्न रोक्ने, बाहिरबाट आएका मालवाहक सवारी साधनसंग जर्वजस्ती नगद असुल्ने, कुनै कम्पनीले आफ्नो उत्पादनको प्रचार प्रसार गर्न बिक्री गर्ने पसलको नाममा वनाएर ल्याउने होर्डिङ बोर्ड राख्न छेकेर जर्वजस्ती रकम असुल्ने जस्ता अबैध काम नगर प्रहरीबाट हुंदै आईरहेको जनगुनासो छ । यस्ता गलत कृयाकलाप भईरहँदा पनि नगरपालिकाले कुनै चासो नदेखाउनुले नगर प्रहरीबाट भएको असुल आन्तरिक रुपमा भागवण्डा हुने गरेको त छैन भन्ने जनगुनासो समेत छ ।

जिल्ला प्रशासन कार्यालय अनुसार असार १२ गतेदेखि जिल्ला प्रशासन कार्यालयको नागरिक सहायता कक्ष तथा दर्ता चलानी फाँटबाट जिल्ला प्रशासन कार्यालयको छाप समेत हराइरहेको छ । छाप हराएदेखि कार्यालयमा त्यस्ता व्यक्तिहरुको गतिविधिबारे निगरानी बढाइएको र आइतबार लामिछानेले सम्बन्धित कर्मचारीहरु कार्यालयमा हाजिर हुनु अगावै कोठामा छिरेर अनुमति विना नै छाप प्रयोग गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले वताउनु भयो ।

दर्ता चलानी कक्षबाट हराइरहेको छाप फेला नपर्दै आइतबारको घटना भएपछि छाप नै चोरी गरी प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने विभिन्न सिफारिस तथा पूर्जिहरु (जस्तैः बिदाको दिन सवारी चलाउने अनुमतिपत्र बनाउने, कार्यालयको लेटर प्याड र छाप प्रयोग गरेर अनाधिकृत सिफारिस गरेको हुनसक्ने र त्यस्ता सिफारिसहरु कार्यालयको अभिलेखमा नराख्ने र नहुने) गरी छापको दुरुपयोग गरेको हुनसक्ने भन्दै कार्यालयले सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको वताईएको छ ।

नगर प्रमुख भिम प्रसाद ढुंगानाको अति विश्वासपात्र मानिने लामिछानेले आंफुलाई मेयरको नजिक रहेको घमण्ड गर्दै अराजक शैली देखाउने गरेको आरोप छ ।

लामिछानेलाई नीलकण्ठ नगरपालिकाकै कर्मचारी र सेवाग्राहीहरुले समेत मिनी मेयर र आईजिपीको उपनाम दिने गरेका छन् । सदरमुकाममा गुड्ने सवारी साधनलाई अनेक बहानामा पैसा असुुल्ने र नदिए हदैसम्मको चिट थमाएर जरिवाना असुल्ने काममा नगरपालिकाले नगर प्रहरीलाई परिचालन  गर्दै आईरहेको छ ।

लामिछाने माथि लागेको आरोपको जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरिरहेको वताएको छ भने नीलकण्ठ नगरपालिकाको कुनै प्रतिकृया आएको छैन ।