कभर फोटो

वागमती प्रदेशमा लामो समय मन्त्री भएका जमकट्टेल अब प्रतिपक्षी बेञ्चमा

By Dhading News

July 24, 2024

धादिङ, ९ साउन २०८१ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेल वागमती प्रदेश सभामा लामो समय मन्त्री बन्न सफल व्यक्तिका रुपमा चिनिन्छन् । प्रदेश सभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ (ख) बाट तत्कालिन नेकपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित जमकट्टेल डोरमणी पौडेल मुख्य मन्त्री भएको सरकारमा २०७४ साल माघ २९ गते देखि २०७७ साल माघ १० गते सम्म आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

नेकपा भित्रको आन्तरिक कलहले नेकपा एमाले र माओवादी केन्द्र अलग हुन पुगेपछि मन्त्री जमकट्टेलले मुख्य मन्त्री पौडेलको सरकारबाट राजिनामा दिएर करिब १ बर्ष सत्ता बाहिर वसेका थिए । परमादेश जारी गरेर नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन भएपछि वागमती प्रदेशको मुख्य मन्त्री वनेका राजेन्द्र पाण्डेको मन्त्री परिषदमा जमकट्टेल आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा २०७८ कात्तिक २५ देखि २०७९ पुस २५ गते सम्म रहेका थिए ।

 प्रदेशमा दोश्रो पटक निर्वाचित भएपछि  जमकट्टेलले २०७९ पुस २५ देखि २०८१ साउन ६ गते सम्म वागमती प्रदेशको मुख्य मन्त्री पद सम्हालेका थिए ।

प्रदेश सभा स्थापना पछि  निरन्तर मन्त्री, मुख्य मन्त्रीमा रहेका जमकट्टेल यस पटक प्रतिपक्षी नेताको भूमिका पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य जमकट्टेल ट्रेड युनियन क्षेत्रबाट सथपित भएका नेता हुन । २०६३ सालमा अन्तरिम संसदको व्यवस्थापिका सदस्यमा मनोनित भएका उनी २०६४ मा तत्कालिन नेकपा एमालेका नेता राजेन्द्र पाण्डेलाई पराजित गरेर संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । दोश्रो पटकको संविधान सभा निर्वाचन २०७० मा भने पाण्डेले जमकट्टेललाई पराजित गरेका थिए । २०७४ को प्रदेश सभा निर्वाचनमा पाण्डे र जमकट्टेल दुवै जना तत्कालिन नेकपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा विघटन पछि जमकट्टेल माओवादी केन्द्रमा पुरानै जिम्मेवारीमा पुगे भने पाण्डे एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गरी उपाध्यक्षको जिम्मेवारीमा पुगेका थिए । शुरुमै मुख्यमन्त्रीमा दावी गरेका पाण्डेले सो जिम्मेवारी नपाएपछि पार्टी विभाजन गरेर परमादेशबाट मुख्यमन्त्री बन्ने अवसर पाएका थिए । पाण्डे अहिले धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन । संघीय सांसद हुनु अघि सम्म पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा थिए । पाण्डे र जमकट्टेल दुवै जना गजुरी गाउँपालिकामा जन्मिएका हुन । दोश्रो पटकको निर्वाचनमा माओवादी केन्द्र,नेपाली काँग्रेस र नेकपा एसको साझा गठवन्धनबाट जमकट्टेल प्रदेश सभामा र पाण्डे प्रतिनिधि सभामा धादिङ १ बाट निर्वाचित भएका थिए ।

२०७४ साल देखि वागमती प्रदेश सरकारमा धादिङ जिल्लाको प्रतिनिधित्व हुँदै आएकोमा यस पटक भने धादिङ जिल्लाले कुनै जिम्मेवारी नपाउने देखिएको छ । प्रदेश सभामा नेकपा एमालेको एक जना पनि प्रतिनिधित्व रहेको छैन । चार जना प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र राप्रपाबाट एक जना रहेका छन् भने समानुपातिक तर्फ नेपाली काँग्रेस र नेकपा एसका १/१ जना सांसद रहेका छन् ।

वागमती प्रदेश सरकार  धादिङबाट एमालेका डा.रामकुमार अधिकारी र राप्रपाका डम्बर तामाङले छोटो अवधि मन्त्री वन्ने अवसर पाएका थिए ।