CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

कभर फोटो

आज साउन १५ अर्थात खीर खाने दिन

By Dhading News

July 30, 2024

काठमाडौं । आज साउन १५ अर्थात खीर खाने दिन । नेपाली समाजमा सदियौं देखि आजको दिनमा खीर खाएर यो पर्व मनाउने गरिन्छ । वर्षा ऋतुका बेला असार १५ मा दही चिउरा खाने प्रचलन छ भने  साउन १५ गते खिर खाने गरिन्छ ।

खिर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो । यसको नेपाली समाजमा विशेष महत्त्व छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो हो भन्ने जनविश्वास रहेको छ । दूधमा मर मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले खीर खाने प्रचलनले निरन्तरता पाएको हो ।

दूध र चामल मिश्रित खिरलाई मात्रा अनुसार मिसाइने चिनी, घ्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ। चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो । गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौँ । खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ । खिरमा सुख्खा फल मिसाउँदा भिटामिन र खनिज जस्ता तत्व पाउन सकिन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना पनि हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् रामचन्द्र गौतमको भनाई छ ।

यद्यपि खीर खाने प्रचलनको कुनै शास्त्रीय मान्यता भने छैन ।

दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । २०७७ साल फागुन १५ गतेदेखि साउन १५ लाई खीर खाने दिन अर्थात खीर दिवसका रुपमा मनाउने गरिएको छ ।