कभर फोटो

यूएईमा मृत्युदण्ड जितेर नेपाल आईपुगे धादिङका पहलमान र ओखलढुंगाका भुवन

By Dhading News

August 01, 2024

केशव अधिकारी धादिङ, १७ साउन २०८१ । संयुक्त अरब एमिरेट्स (यूएई) मा नेपाली साथीको हत्याको आरोपमा अदालतबाट मृत्युदण्ड सजायँ सुनाइएका दुई नेपाली युवाले मृत्युदण्डबाट मुक्ति पाएर स्वदेश फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई एक करोड ८ लाख ब्लडमनी बुझाएर नेपाल फर्किएका हन् ।

धादिङको नेत्रावती डवजोङ वडा नम्बर ४ का पहलमान थापा मगर र ओखलढुंगा चिसङ्खुगढीका भुवन श्रेष्ठले मृत्युदण्ड पाउने खबरले परिवारजनमा मात्रै होइन धेरै नेपालीलाई दुखित वनाएको थियो । निरन्तरको प्रयासपछि उनीहरुबाट हत्या गरिएका भनिएका पीडित परिवारले यूएईको अदालतले तोकेअनुसार ब्लडमनी बुझेपछि मगर र श्रेष्ठको मृत्युदण्ड खारेज भएको हो ।

यूएईमा रहेका नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगर, ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगर एकै ठाउँमा बस्ने गर्दथे । २०७६ जेठ २० गते बाबुराम अचानक विरामी परेपटि उपचारका लागि अस्पताल लगेर सहयोग गर्दा उल्टै भुवन र पहलमान माथि हत्याको आरोप लागेको उनिहरु बताउँछन् ।

श्रीमानको मृत्यु हुँदा बाबुरामकी पत्नी नरिमा पनि यूएईमै थिइन्। पत्नी नरिमा आले मगरले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले भुवन र पहलमान लगायत अन्य पाँचलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा ३ जना छुटेपनि भुवन र पहलमानलाई त्यहाँको अदालतले दोषी ठहर गर्दै पाँच बर्ष देखि यूएई सारजाहाको सेन्टर जेलमा आजिवन कारावासको सजायँ तोकेर राखिएका थिए ।

युएईको कानुन अनुसार पीडित परिवारले अदालतले दिने सजायमा कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी)भनेर अदालतले पीडित परिवारलाई प्रस्ताव राखेको थियो । पहलमान र भुवनका परिवारको निरन्तर आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरेपछि उनिहरुको मृत्युदण्ड सजायँ रोकिन पुगेको हो । दुवै परिवारले सहयोग जुटाएर पीडित परिवारलाई गत चैतमा दुई परिवारले तीन लाख युएई दिराम अर्थात एक करोड ८ लाख नेपालीरुपैयाँ बुझाएका थिए। मृतकका परिवारले व्लडमनि बुझेपछि मृत्युदण्ड सजायँबाट उन्मुक्ती पाएर दुवै जना जेलमुक्त भएर नेपाल आईपुगेका हुन् ।

यूएईको तल्लो अदालतको फैसलाविरुद्ध उनीहरूले अपिल कोर्टमा निवेदन गरेका थिए। माथिल्लो अदालतमा मुद्दा विचाराधीन भइरहँदा नेपालमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच हत्यामा संलग्न दुई परिवारका तर्फबाट मृतक बाबुरामका परिवारलाई ३ लाख यूएई दिराम अभियुक्त दुई परिवारका तर्फबाट बुझाउने सहमति भएपछि उनिहरुको सजायँ रोकिएको हो ।

यूएईको कानुनमा हत्या गरेबापत पीडित परिवारले पैसा स्वीकार गरेमा त्यो पैसा तिरेर अभियोग फिर्ता लिन सकिने व्यवस्था छ। उनीहरूको बीचमा २०७९ वैशाख १६ गतेको सहमति अनुसार दुई परिवारले मृतककी पत्नी नरिमालाई २१ लाख बढी रकम तत्कालै बुझाएका थिए ।

सहमति भएकै दिन पहलमानको तर्फबाट बुबा एकबहादुरले ५० हजार यूएई दिराम बराबरको नेपाली रुपैयाँ १६ लाख ६२ हजार ५ सय रुपैयाँ बुझाएका थिए । भुवनको तर्फबाट दाइ खेमराज श्रेष्ठले ३ लाख रुपैयाँ त्यसै दिन बुझाएका थिए । ५० हजार दिराममध्ये बाँकी १३ लाख ६२ हजार ५ सय रुपैयाँ दुई महिनाभित्रमा बुझाउने सहमति भएको थियो। तर तोकिएको समयमा उनीहरुले रकम जुटाउन नसकेपछि ओखलढुंगाका भुवन र धादिङका पहलमान बचाउ अभियान सुरु भएको थियो। सोही अभियानबाट आवश्यक रकम जुटेपछि दुवै जना नेपाल फर्किन सम्भव भएको हो ।

यूएईको कानुन अनुसार मृतकका परिवारलाई ब्लडमनी बुझाइसकेपछि मुद्दा फिर्ता हुन्छ। उनीहरूको सहमति अनुसार नेपालमै रकम लेनदेन भयो। कन्सुलर सेवा विभागको रोहबरमा गरिएको लेनदेन काठमाडौँस्थित यूएई दूतावासले प्रमाणीकरण गरेर अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता भएको हो। ओखलढुंगाका भुवन साउन १० गते बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा उत्रिएका हुन भने धादिङका पहलमान एक साता पछि साउन १६ गते बुधबार नेपाल आईपुगेका हुन् । पहलमानको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर नेपाल फर्काइदिने प्रवन्ध मिलाएको थियो ।

बुधवार बिहान त्रिभुवन विमानस्थलमा ओर्लदै पहलमानले आफूहरुले हत्या नगरेको भए पनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सी पिएको भए पनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि बाबुराम मृत भेटिएको उनले बताए ।

पहलमान बुधबार बिहान र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेका हुन भने भुवन गत बिहीबार आएका थिए । पहलमान र भुवन लाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।