कभर फोटो

गल्छी महेशदोभान बस्ने प्रकाश मगर श्रीमतीको हत्याको आरोपमा पक्राउ

By Dhading News

August 07, 2024

गल्छी ( धादिङ) २३ साउन, २०८१ । लामो समय देखि गल्छी गाउँपालिकाको वडा नम्बर ६ महेशदोभान क्षेत्रमा बस्दै आईरहेका प्रकाश मगर आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ घर भई महेशदोभान क्षेत्रमा ज्यालामजदुरी गर्दै आईरहेका उदण्ड स्वभावका प्रकाश साउन २० गते पक्राउ परेका थिए । महेशदोभान स्थित बन्द रहेको हाईबे मोटर पार्टस् ग्यारेजमा साउन २० गते एक महिला मृत अवस्थामा भेटिएपछि प्रहरीले उनको हत्या भएको आशंका गरि अनुसन्धानका लागि प्रकाशलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मृतक महिला अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर २ का भुपेन्द्र कुंवर क्षेत्रीको छोरी बर्ष ३२की निशा क्षेत्री भएको र  उनी प्रकाश मगरको श्रीमती भएको खुल्न आएको थियो । निजको हत्या उनकै श्रीमान प्रकाश मगरले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्याको अभियोगमा पक्राउ परेका प्रकाशलाई प्रहरीले साउन २१ गते जिल्ला अदालत धादिङबाट ७ दिनको म्याद लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।