कभर फोटो

एक महिनामा सत्र हजार एमाले कार्यकर्ता मार्ने धम्की दिने गजुरी गाउँपालिकाका कर्मचारी राजन लामा पक्राउ

By Dhading News

August 11, 2024

धादिङ,२७ साउन । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली लगायत एमालेका १७ हजार नेता कार्यकर्ताहरुलाई एक महिना भित्र मार्ने धम्की दिने धादिङको गजुरी गाउँपालिकाका कर्मचारी राजन लामा आईतबार पक्राउ परेका छन् ।

नेकपा एमाले गजुरी गाउँ पालिका कमिटीले लामाको गतिविधि प्रति आपत्ति जनाउँदै आईतबार निज माथि कारवाहीको माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको थियो ।

गजुरी गाउँपालिकामा खेलकुद प्रशिक्षकका रुपमा कार्यरत लामाले सामाजिक सन्जाल फेसबुक मार्फत एक महिना भित्रमा प्रधानमन्त्री वली र उनका पछि लाग्ने १७ हजार जनालाई छानी छानी मार्ने धम्की दिंदैं फेसबुकमा स्टाटस लेखेको बिषयमा उजुरी परेपछि लामालाई साईबर क्राईम अन्र्तगत अनुसन्धानका लागि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो ।

स्थानीय तहमा कार्यरत कर्मचारी भएपनि लामाले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेर केपि शर्मा ओली प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री वली बिरुद्ध आपत्तिजनक स्टाटस लेख्दै गाली गलौज गर्दै आईरहेका थिए ।

लामाले प्रधानमन्त्री वली र उनका समर्थकहरुको ज्यान लिने सम्मको धम्की दिएर फेसबुकमा निरन्तर लेख्दै आईरहेको नेकपा एमाले धादिङका जिल्ला कमिटी सदस्य समेत रहेका गजुरी गाउँपालिकाका कार्यपालिका सदस्य आयुष प्रजाले वताउनु भयो । गाउँपालिकाको कर्मचारी भएर आपत्तिजनक स्टाटस नलेख्न आग्रह गर्दा आफ्नो ज्यान लिने धम्की दिएको आयुष वताउनुहुन्छ ।

कुलमान घिसिङ र सरकारका बिच चलिरहेको विवादमा लामाले एमालेका नेता कार्यकर्ता मार्ने धम्की दिएका हुन । कुलमानलाई सरकारले कारवाही गरे प्रधानमन्त्री ओली र उनका समर्थकहरुलार्ई गाउँ गाउँमा गएर खोजी खोजी मार्ने धम्की लामाले फेसबुकमार्फत दिएका छन् ।

खुलेआम मान्छे मार्ने धम्की दिएर आतंक मच्चाउने लामा गजुरी गाउँपालिका वडा नम्बर ६ का वासिन्दा हुन् । माओवादी समर्थित लामालाई गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा कर्मचारी वनाएर विपक्षीहरु बिरुद्ध धाक धम्की दिन, आतंक मच्चाउन प्रयोग गर्दै आईरहेको एमालेका स्थानीय नेता कार्यकर्ताहरु बताउँछन् ।

लामाले शक्तिको आडमा सामाजिक सन्जाल मार्फत बिशेष गरी नेकपा एमाले बिरुद्ध अफवाह फैलाउनुका साथै त्यस्को प्रतिवाद गर्ने व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर लामो समय देखि आतंक मच्चाउँदै आईरहेको नेकपा एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले वताउनुभयो । लामाको व्यवहार गलत भएको बारेमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक सचेत गराउँदा पनि श्रेष्ठले कारवाही गर्नुको साटो संरक्षण दिंदै आएकाले कानूनी उपचारमा जान आंफुहरुलाई वाध्य बनाएकोे अध्यक्ष मिजारको भनाई छ ।

लामा २०८० भदौ १३ गते देखि गजुरी गाउँपालिकाको खेलकूद प्रशिक्षक पदमा कार्यरत छन । सरकारी कर्मचारीको हैसियतमा भएर पनि सामाजिक सन्जालको दुरुपयोग गरि धाक धम्की, डर त्रास देखाउने काम लामाले गर्दै आएको र त्यस्तो नगर्न सुझाव दिंदा उल्टै आफ्ना साथीहरुको ज्यान लिने धम्की दिएको भन्दै नेकपा एमाले गजुरी गाउँपालिकाले इलाका प्रहरी कार्यालय गजुरी र गजुरी गाउँपालिकामा पटक पटक ध्यानाकर्षण गराउँँदै आएको थियो । विगतमा प्रहरी प्रशासन र गाउँपालिकाले कुनै कारवाही नगरेकै कारण लामाको मनोवल बढ्े्र खुलेआम हत्या गर्ने धम्की दिन पुगेको एमाले गजुरीका पूर्व अध्यक्ष माधव भण्डारी बताउनहुन्छ ।