कभर फोटो

आज साउनको अन्तिम सोमबार देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

By Dhading News

August 12, 2024

धादिङ २८ साउन २०८१ । सौरमास अनुसार आज यो बर्षको साउन महिनाको अन्तिम सोमबार  । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमामा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लाग्ने गर्दछ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोले दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन् । काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर धादिङबेसीको पशुपति मन्दिर, गल्छीको अम्लेश्वर,छाङ्गेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा यो दिन दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।

पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका ठुलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

साउनमा शिवालयमा शुद्धजलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ ।