कभर फोटो

युवा कमेडियनहरु ‘जोक जात्रा’ लिएर आउँदै

By Dhading News

August 13, 2024

काठमाण्डौं । स्ट्याण्ड अप कमेडीको क्षेत्रमा अलग्गै पहिचान बनाएका युवा कमेडियनहरुको पहलमा नेपालमा नयाँ स्वादको हाँस्य कार्यक्रम ‘जोक जात्रा’ हुने भएको छ ।

आगामी भदौ १२ गतेबाट शुरु हुन लागेको कार्यक्रममा, स्ट्याण्ड अप कमेडीमा संघर्ष गरिरहेका यूवा कलाकारहरूले दर्शकलाई पेट मिचिमिचि हँसाउने र मनोरञ्जन प्रदान गर्ने भएका छन् ।भदौ १२ गते कुन्ज थिएटर थापा गाउँमा जोक जात्राको पहिलो शो प्रदर्शनी हुने भएको छ । कार्यक्रममा कमेडिएन सन्देश देवकोटा,कर्म लामा, निश्चल अर्याल, कुशल अधिकारी, कृष्ण गैह्रे, प्रतिक अधिकारी लगायतले समसामयिक बिषयबस्तुका साथै नेपालको राजनैतिक, सामाजिक, आर्थिक तथा अन्य सवालहरुमा चोटिलो प्रस्तुति दिने छन् ।

नेपाली समाजका विविध पक्षलाई हाँस्यात्मक तरिकामा प्रस्तुत गरि दर्शकलाई हँसाउने उद्धेश्यले जोक जात्रा शुरु गर्न लागिएको आयोजकले जनाएको छ । गायन, रेडियो कार्यक्रम, स्ट्याण्डअप कमेडी, तथा अन्य विभिन्न हाँस्य कार्यक्रहरुमा सहभागि भईसकेका युवा कमेडिएनहरुको साथमा आउन लागेको जोक जात्रा राजधानी बाट शुरु भएर देशका विभिन्न सहरमा समेत प्रदर्शन गरिने भएको छ ।

नेपालमा पहिलोपटक शुरु हुन लागेको यो खाले कमेडी शोको संचालकको भुमिका कमेडियन विशाल गौतमले निभाउने छन् । गौतम एक कुशल स्ट्याण्ड अप कमेडियन हुन्। कार्यक्रममा प्रस्तुति दिने ७ जना कलाकारहरु कमेडी च्याम्पियन सिजन ३ मा प्रतिस्पर्धी थिए ।