केशव अधिकारी रुवीभ्याली(धादिङ),१६ भदौ २०८१ । नेपाल मेटल कम्पनीको गणेश हिमाल सिसाखानी परियोजना पुनः सञ्चालन गर्न लागि आवश्यक पुँजी वृद्धि गर्ने निर्णयविरुद्ध परेको मुद्दाको फैसला कम्पनीको पक्षमा आएको छ ।
कम्पनीको शेयरवृद्धिलाई लिएर नेपाल सरकार, हङकङको केके वामफोर्ड एण्ड कम्पनी लिमिटेड, खेतान समूहबीच मतभेद भएको थियो । २०७४/०७५ मा सरकारले लगानी वृद्धि गर्ने निर्णय गर्दै चिनियाँ कम्पनी भित्रिएसँगै खेतान समूह अदालत गएको थियो । पुँजीवृद्धि र चिनियाँ लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध खेतान समूह अदालत गएको हो ।
कम्पनीमा सरकारको ७१ प्रतिशत लगानी छ । यसमा सरकारको ऋण ६ करोड र शेयर १२ करोड छ । चिनियाँ कम्पनीको २ करोडको ऋण छ । कम्पनीमा चिनियाँ छाइयुएन मिनरल्स प्रालिको १३.०८ र खेतान समूहको ७१.३१ प्रतिशत शेयर रहेको छ ।
२०७२ सालमा सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले शेयर वृद्धि गरेर नेपाल मेटल कम्पनी सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णयपश्चात खेतान समूह अन्तर्गतको म्युचुअल ट्रेडिङ कम्पनीले साधारण सभाबाट शेयर पुँजी वृद्धि गर्ने निर्णयको खारेजीको माग गर्दै २०७३ सालमा पाटन पुनरावेदन अदालतमा मुद्दा दिएको थियो । खेतान समूहले दिएको मुद्दामा पुनरावेदन अदालतबाट २०७५ सालमा कम्पनीको पक्षमा फैसला आएको थियो ।
पुनरावेदन अदालतको फैसलाविरुद्ध खेतान समूहले २०७५ सालमा सर्वोच्च अदालतमा दिएको मुद्दाको सर्वोच्च अदालतले २०८१ साल वैशाख १० गते पुँजी वृद्धि गर्ने पक्षमा फैसला गरिदिएको हो । फैसला कम्पनीको पक्षमा आएपनि अदालतबाट फैसलाको पूर्णपाठ आउन अझै बाँकी रहेको नेपाल मेटल कम्पनीले जनाएको छ ।
फैसलासँगै मेटल कम्पनीले गरिरहेको सिसा तथा जस्ताखानीको अन्वेषण-अनुसन्धान सञ्चालनको पुनः सम्भावना बढेको छ । २०६२ सालदेखि खानी बन्द रहेको छ । बन्द हुनुअघि हरेक वर्ष ५२ लाख खर्च भइसरहेको थियो ।
धादिङ र रसुवाको सिमानामा पर्ने गणेश हिमालको फेदीमा रहेको सिसा र जस्ताखानीको अन्वेषण गर्ने काम २० वर्षदेखि बन्द छ । कम्पनी पुन: सञ्चालन गर्न २०७४ सालमा चिनियाँ कम्पनीले चासो राखेर सरकारसँग अनुमति लिएर काम गर्न खोज्दा खेतान समूहको अवरोधका कारण कम्पनी अलपत्र हुन पुगेको हो ।
खानीस्थल धादिङको रुबीभ्याली र रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको सीमाक्षेत्रमा पर्छ । सरकारले २०३३ साल असार ५ गते स्थापना गरेको नेपाल मेटल कम्पनीले गणेश हिमाल फेदीमा खानी उत्खननका लागि पूर्वाधार निर्माण र अध्ययनमा अहिलेसम्म १८ करोड खर्च गरिसकेको कम्पनीका पूर्वअध्यक्ष नेत्रराज पौडेलले बताए ।
समुद्री सतहबाट करिब ३३ सय मिटरको उचाइमा हिमालको फेदी र खोँचमा रहेका कारण खानी क्षेत्रमा बाह्रै महिना जाडो हुन्छ । यस क्षेत्रमा चार महिना हिमपात हुने गर्छ । खानी भएका ठाउँमा सूर्यको किरण पनि बिहान ११ देखि अपराह्न २ बजेसम्म मात्रै विरलै मात्र पुग्छ । जति बेला पनि सिरेटो चल्ने खोलामा बन्द भएको कम्पनीको ३० वर्षअघि निर्माण गरिएको पुराना दुई घर छन् । जसमध्ये एक २०७२ सालको भूकम्पले चर्काएर जीर्ण बनाएको छ । अर्को घर खोलाले बगाइसकेको छ । खानी पुनः सञ्चालनमा ल्याउन भनेर कम्पनीले खानी क्षेत्रको साइट कार्यालय कुर्न कर्मचारी राखेको पनि १५ वर्ष भइसक्यो ।
कम्पनीले अरू कर्मचारीलाई बिदा दिएर ३० वर्षअघि भर्ना भएका सात कर्मचारीलाई मासिक १७ हजारदेखि ३० हजारसम्म तलब खुवाएर राखेको छ । ती कर्मचारीलाई चिनियाँ कम्पनीले तलव खुवाउँदै आइरहेकोमा पछिल्लो एक वर्षदेखि तलब पाउन नसकेको लेखा प्रमुख घिमिरेले बताए ।
२०२४ मा गणेश हिमालको १४ हजार ५ सय फिटमा सिसाको खनिज धाउ फेला परेपछि २०५० सम्म विभिन्न चरणमा अनुसन्धान गरिएको थियो । २२०० मिटर टनेलभित्र ६ सय मिलिमिटर गेजको रेलमार्गका साथ ब्याट्रीबाट सञ्चालन हुने चार टन क्षमताको लाको मोटिभ निर्माण भएको छ । खानीस्थल नुवाकोटको त्रिशूलीबाट १०५ किलोमिटर टाढा पर्छ ।
खानी परियोजनाका लागि २०४४ सालमा नेपाली सेनाले नुवाकोट, विदुर- १ ढुङ्गे (त्रिशूली) तथा रसुवाका बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसी, गत्लाङ, पार्वतीकुण्ड, खुर्पुभञ्ज्याङ हुँदै सोमदाङसम्मको एक सय पाँच किलोमिटर सडक खन्ने जिम्मा लिएर ०४४ मा खुर्पुभञ्ज्याङसम्म र २०४६ सालमा सोमदाङसम्म करिब ५० किलोमिटर सडक खनेको थियो ।
सडक निर्माणसँगै त्रिशूलीबाट केन्द्रीय प्रसारणको बिजुलीसमेत पुर्याइएको थियो । नपुग बिजुली त्यहीँ उत्पादनसमेत गरेको थियो । सडक खन्न तैनाथ नेपाली सेनाको गणको भग्नावशेष अझै पनि पार्वतीकुण्डमा देख्न सकिन्छ । उक्त सडक खन्न रसुवा तथा धादिङका तिप्लिङ र सेर्तुङका नागरिकले दैनिक तीन रुपैयाँ ज्यालामा काम गरेका बुढापाका बताउँछन् ।
सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७९ अनुसार गणेश हिमाल जस्ताखनीबाट दैनिक ५० टन खनिज धाउको उत्खनन गरी बिक्री वितरण गर्न सकिने छ । यहाँ २४ लाख मेट्रिक टनको धाउ रहेको अनुमान गरिएको छ । खानी स्थालमा भवन निर्माण, साना जलविद्युत आयोजना, धाउ उत्खनन गर्ने मेसिनरी उपकरण, २ हजार २०० मिटर लामो सुरुङ, सुरुङभित्र रेल सञ्चालन, भेन्टिलेसन कार्य सम्पन्न गरी उद्योग सञ्चालनका लागि दक्ष एवं सिसा अनुभवी लगानीकर्ताको खोजीमा सरकार तथा कम्पनी व्यवस्थापन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रसुवाको त्रिशूली किनारको ग्राङ हुँदै गणेश हिमालबाट बगेको पानी परीक्षण गर्दै २०२४ सालमा मैलुङखोला पसेका भारतीय बिरला कम्पनीका चक्रवर्ती थरका इन्जिनियरले सो स्थानमा जिंक (जस्तापाता बनाउने र औषधिमा मिश्रण गरिने कच्चा पदार्थ) र सिसाखानी भएको पत्ता लगाएका थिए ।
बाह्रै महिना जाडो हुने भएकाले शिविर कुरेर बस्ने कर्मचारी भूकम्पले जीर्ण बनाएको घरमा एकातिर सामूहिक भान्सा र एकातिर सुत्ने कोठा बनाएर बसेका छन् । जीर्ण भवनको बाहिर रहेको पहेँलो साइनबोर्डमा नेपाल मेटल कम्पनी, गणेश हिमाल जस्ता सिसा परियोजना, आधार शिविर, सोमदाङ लेखिएको छ । उचाइ तीन हजार दुई सय ७० मिटर । यसै आधारमा शिविरबाट जस्ता र सिसाखानी पत्ता लागेको स्थान तीन घण्टाको उकालो गएपछि पुगिन्छ जुन चार हजार मिटर उचाइमा छ ।
‘१८/२० वर्ष आगो तापेर बस्यौँ । कम्पनी फेरि सञ्चालनमा आउला भन्ने आस मरेको छैन,’ सुरुङ खन्ने उपकरण ड्रिलर चलाउने नुवाकोटका शुभराम तामाङले बताए । पाँच सय कर्मचारी तथा मजदुरले लगातार करिब २५ वर्ष काम गरेको खानी २०६२ सालमा करिब तीन सय कर्मचारीलाई तलब, उपदान र सुविधा दिएर अवकाश दिइए पनि केहीलाई भने चौकीदारका रूपमा कार्यालयमै राखिएको छ ।
खानी अध्ययन गर्न हिमालका काखमा ल्याइएका सयौँ मेट्रिक फलामे उपकरण खानीस्थल वरपर अलपत्र छ । मेटल कम्पनीका पूर्वअध्यक्ष पौडेलका अनुसार मुलुकमा सशस्त्र द्वन्द्व सुरू भएका कारण उत्खनन अघि बढाउन नसकिने जनाई आर्थिक वर्ष २०६२/०६३ सालदेखि नेपाल सरकारले बन्द गराएको थियो । कम्पनीमा नेपाल सरकारको ७१.३१ प्रतिशत, खेतान समूहअन्तर्गतको म्युचुअल ट्रेडिङ कम्पनीको १३ दशमलब ८ प्रतिशत, चिनियाँ कम्पनीको १३ दशमलब शून्य आठ प्रतिशत (भारतको हैदराबाद इन्डस्ट्रिजले बिक्री गरेको), राष्ट्रिय वाणिज्य बैंकको १ दशमलब १६ प्रतिशत र आठ सय ४५ नेपालीको शून्य दशमलव नौ प्रतिशत शेयर छ ।
उत्खननका लागि गरिएको परीक्षणमा जस्ता, सिसा र चाँदी रहेका विभिन्न छ स्थानको पहिचान गरिए पनि कम्पनीले प्रतिफल लिन नसकेपछि तत्काललाई सरकारले द्वन्द्वको कारण देखाएर उत्खनन बन्द गरेको उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य चन्द्रकान्त अधिकारी बताउँछन् ।
धातु भएका स्थानको पहिचान गरी उत्खननका लागि पूर्वाधारसमेत बनाइसकिएको कम्पनी सञ्चालनमा आउन सकेमा मुलुकले ठूलो आर्थिक फड्को मार्न सक्ने धादिङ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष ध्रुवबहादुर थापाको सुझाव छ । अध्ययनका क्रममा एक टन धाउ प्रशोधन गर्दा करिब एक किलो चाँदी आउने गरेको तत्काल अनुगमनमा खटिएका प्राविधिकको प्रतिवेदनमा उल्लेख गरिएको पनि थापाले बताए ।
गणेश हिमाल आसपासमा करिब तीन लाख टन धाउ रहेको पहिचान भइसकेको र त्यसबाट उत्पादन हुने जस्ता र सिसाले ४० वर्षसम्म नेपालको माग धान्ने अनुमान गरिएको उनको भनाइ छ । यहाँ लारी र सुप्ले गरी दुई क्षेत्रमा खनिज पाइएको थियो । प्रारम्भिक एक अध्ययनले यस क्षेत्रमा चार लाख २१ हजार टन जस्ता, ८८ हजार टन सिसा र ६० हजार किलो चाँदी उपलब्ध हुने देखाएको र यसको अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यले ६७ करोड अमेरिकी डलर अर्थात् ४९ अर्ब ५८ करोड हुन आउने प्रतिवेदन केही वर्षअघि नै परियोजनाले सार्वजनिक गरेको थियो ।
मेटल कम्पनीले उत्खनन बन्द गरेपछि यहाँबाट गैरकानुनी उत्खनन बढ्नाका साथै अवैध ढङ्गबाट कारोबार गर्नेको चलखेल बढ्दै गएकाले सरकारले तत्काल खानी उत्खननका विषयमा स्पष्ट नीति बनाएर सञ्चालनमा ल्याउनुपर्ने धादिङ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष थापाको सुझाव छ ।