ब्रेकिङ समाचार

बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्यसचिव अर्यालको निर्देशन

By Dhading News

September 13, 2024

काठमाडौं,२८ भदौ २०८१ -चाडबाडको मौका पारेर उपभोक्ताहरु माथि हुने ठगी, मुल्यबृद्धि, खाद्यान्नमा मिसावट ,कालावजारी लगायतका गलत कार्य गर्नेलाई  कडा सजायँ दिन देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई नेपाल सरकारका मुख्यसचिव एक नारायण अर्यालले निर्देशन दिनु भएको छ ।

चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूलय वृद्धि गर्ने ,यात्रुसंग बढी भाडा लिने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै कुनै पनि बहानामा नागरिकलाई ठगिन नदिन एक्शन प्लान बनाएर बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्यसचिव अर्यालले निर्देशन दिनुभएको हो ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले चाडपर्व शुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट शुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिनुभयो । स्थानीय तहसँग समन्वय गरेर कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरुलाई कारबाहीस्को दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न पनि आग्रह गर्नुभयो । उहाँले जनतालाई सुशासन दिनुपर्ने, अपराधको नियन्त्रण र चाडपर्व र नेपालीहरु निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरा सरकारलाई सह्य नहुने बताउनु भयो । प्रमुख जिल्ला अधिकारीहरुसँग चाडपर्वको बेलामा भएका अपराधिक गतिविधिहरुको रिपोर्ट प्रश्तुत गर्न पनि आग्रह गर्नुभयो । उहाँले सडकलाई खाल्डाखुल्डी रहित बनाउन, पहिरोहरु पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापना भन्दा १५ दिन अघिदेखि नै गाडीको टिकट खुलाउन निर्देशन दिनुभयो ।

उपत्यकाको मात्रै होइन, ७७ वटै जिल्लाका जिल्ला प्रमुखहरुले स्थानीय तहसँग समन्वय गरेर बजार अनुगमनको एक्शन प्लान बनाउनुस् । कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेकुरा सह्य हुँदैन । कानूनको दायरामा ल्याउनुप¥यो । हामीसँग कालोबजारी ऐन छ, एक्शनमा उत्रिनुस् र काम गर्नुस् । सबै व्यवसायीहरु बेइमानी हुँदैनन् । केही मानिसले गर्दा बद्नाम हुन्छ । बेइमान गर्नेलाई छोड्नु हुँदैन, सरकारले पनि छोड्दैन । कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्यायो भने मलाई भन्नुहोला, डराउनु पर्दैन । जनतालाई सुशासन दिनुपर्छ । अपराधको नियन्त्रण गर्नुपर्छ । चाडपर्व र यो खालको स्थितिमा, सबै हिसावले जनता प्रताडित भएको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरामा सरकारले सहँदैन । तपाईंहरुले बजारको नियमित निरीक्षण गर्नुस् । पर्फमेन्स दिनुपर्छ । कति जना कारबाही गर्नुभयो । त्यो म हेर्न चाहन्छु ।’जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरुकोमा धाउने कामको अन्त्य गर्न पनि आग्रह गर्नुभयो ।