कभर फोटो

टानको निर्वाचनमा अन्तरघात गरेको आरोपमा एमाले धादिङका नेता ध्रुव अधिकारी कारवाहीमा

By Dhading News

September 16, 2024

काठमाडौं ३१ भदौ २०८१ । ट्रेकिङ एजेन्सिस एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका आधिकारिक उम्मेदवार राजेन्द्रप्रसाद सापकोटा सहितलाई हराउन भूमिका खेलेकाे भन्दै तीन जनालाई संगठनले कारवाही गरेको छ ।

आफ्नो उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेको आरोपमा एमाले धादिङ जिल्ला कमिटी सदस्य ध्रुव अधिकारी र हरि धरेल तथा सिन्धुपाल्चोकका दामोदर ढकाललाई आगामी दुई वर्षसम्म संगठनबाट निष्कासन गरेको संगठनले जनाएको छ ।

गत भाद्र १७ गते सम्पन्न टानको निर्वाचनमा अध्यक्षमा पार्टीबाट सर्वसम्मत उम्मेदवार बनेका सापकोटालाई नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक पर्यटन व्यवसायी संघले पनि समर्थन गरेको थियो ।

दुवै संगठनको साझा उम्मेदवार बनेका सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्वाचित भए पनि अध्यक्षमा सापकोटा पराजित भएका थिए ।

आफ्नो उम्मेदवार हराउन खेलेको आरोप लागेकाहरुलाई कारवाही गर्न आवश्यक प्रमाण नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई जानकारीको लागि संगठन विभागमा दर्ता गराउनुका साथै बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, धादिङ जिल्ला कमिटी, सिन्धुपाल्चोक जिल्ला कमिटी र उद्योग व्यवसायी विशेष जिल्ला कमिटीलाई कारबाहीबारे जानकारी गराइएको उल्लेख गरिएको छ । ट्रेकिङ क्षेत्रमा एमाले बलियो शक्ति रहेको र त्यसमाथि दुई ठूला संगठन मिलेर चुनावमा जाँदा पनि एमालेका उम्मेदवार पराजित भएपछि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले अन्तरघात गर्नेलाई कारबाही गरेको हो ।