कभर फोटो

पर्यटन क्षेत्रका पायोनियर अग्रज पर्यटन व्यवसायी ज्ञानु रिमालको निधन

By Dhading News

September 20, 2024

केशव अधिकारी / धादिङ न्यूज 

काठमाडौं ४ असोज २०८१ । नेपालको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याएका धादिङ जिल्लाका संस्थापक पर्यटन व्यवसायी ज्ञानु रिमालको ६२ वर्षको उमेरमा निधन भएको छ ।

नेपालको पर्यटन उद्योगका अग्रणी व्यक्तित्व रिमालको  असोज ४ गते शुक्रवार दिउँसो ललितपुरको मेडसिटी अस्पतालमा निधन भएको हो । रिमालको जन्म बि.स.२०१९ फागुन २४ गते धादिङको अचनेटारमा भएको थियो । उनले पर्यटन विकास र प्रवर्द्धन गर्न निकै सक्रिय र सहयोगी भूमिका निभाएका थिए ।

पर्यटन क्षेत्रबाट धादिङ जिल्लालाई चिनाउँदै देशको अर्थतन्त्रमा योगदान पु¥याउन चार दशक देखि सक्रिय रहँदै आएका रिमाललाई पर्यटन व्यवसायमा संलग्न धादिङका अधिकांशले गुरुका रुपमा मान्ने गर्दछन् ।रिमाल पर्यटन क्षेत्रका पायोनियर मानिन्छन्।

नेपालको पर्यटन क्षेत्रको व्यापारमा राजपरिवार र घरानीयहरुको मात्र हात रहेको समयमा धादिङ जिल्लाको दुरदराजबाट राजधानी प्रवेश गरी निजी क्षेत्रबाट पर्यटन व्यवसाय गर्ने चुनौती रिमालले लिएका थिए ।उनी नेपालको पर्यटनीय क्षेत्र सम्बन्धित परिकल्पनालाई व्यवहारमा कार्यन्वयन गर्न सक्ने विश्वसनीय व्यक्तिका रुपमा परिचित छन् ।

गणेश हिमाल ट्रेकिङ स्थापना गरेर पदयात्रा पर्यटन व्यवसायको संस्थापक भई  धेरैलाई पर्यटन क्षेत्रमा जोड्न रिमालको ठूलो योगदान रहेको र आज सफल पर्यटन व्यवसायी भनेर चिनिएका धेरैले रिमालसंग काम सिक्ने अवसर पाएको र आंफु पनि उहाँको चेला भएको सफल पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटाले वताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सल्लाहकार सदस्य,अखिल नेपाल फुटवल संघका पूर्व केन्द्रिय सदस्यसमेत रहेका रिमाल २०४९ सालमा जिल्ला विकास समिति धादिङको उप सभापति पदमा निर्वाचित भएका थिए । उपसभापति पदबाट राजिनामा दिएर २०५१ को उप निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्यमा उम्मेदवारी दिएका रिमाल पराजित भएका थिए ।

रिमाल पर्यटन क्षेत्रमा अब्बल मानिन्थे । उनले पर्यटन व्यवसायका साथै पर्यटकीय परियोजनाहरुमा पु¥याएको योगदानले नेपाललाई विश्व सामु चिनाउन ठूलो भूमिका निर्वाह गरेको पर्यटन व्यवसायीहरुको भनाई छ । उनको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको  टानका पूर्व अध्यक्ष चन्द्र रिजालले वताउनु भयो ।

रिमाल परिवारले केही बर्ष देखि अमेरिकाको वाल्टिमोरमा समेत पर्यटन व्यवसाय सञ्चालन गर्दै आईरहेको छ । दुई बर्ष देखि रिमाल नेपालमै रहेका थिए ।  पछिल्लो समय किड्नीमा समस्या देखिएपछि नियमित डायलोसिस गराउँदै आईरहेका रिमालको शनिवार दिउँसो उपचारकै क्रममा निधन भएको हो । रिमालको १ श्रीमती २ छोरा र १ छोरी  छन् ।

रिमालको अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरिरमा पुष्प गुच्छा चढाउन पर्यटन व्यवसायीहरुका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङका लगायत विभिन्न क्षेत्रका व्यक्ति पशुपति आर्यघाट पुगेका थिए ।

रिमालको पार्थिव शरीरलाई  शुक्रवार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।