कभर फोटो

धादिङमा पहिरोमा पुरिएर २ जना पुरुष र खोलाले वगाएर एक वालिका बेपत्ता

By Dhading News

September 28, 2024

धादिङ १२ असोज २०८१ ।  दुई दिन देखि जारी अविरल बर्षाले देशैभर जनजिवन प्रभावित वनाएको छ । लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो खस्ने,राजमार्ग अवरुद्ध हुने घर गोठ पुरिने, मान्छे वगाउने जस्ता कार्य हुन थालेको छ ।यसै क्रममा धादिङमा पहिरोमा पुरिएर २ जना पुरुष र खोलाले वगाएर एक वालिका हराईरहेकी छिन ।

धादिङको मलेखु खोलामा माछा मार्न गएका बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ शुक्रवार राती पहिरोमा परेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी डिल्लीराज पाण्डेका अनुसार माछा मार्दै गर्दा  खोला बढेपछि खोला बढेपछि नजिकै रहेको ओढारमा ओत लागेर बसिरहेका उनिहरुलाई पहिरो खसेर पुरेको हो ।

माछा मार्न जान लागेका उनीहरू निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाँडामा रहेको ओडारमा बस्दा पहिरोले पुरिएका हुन् । घटनाको जानकारी आएपछि घटनास्थल पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर उनीहरूको खोजी गरिएको भए पनि नभेटिएपछि उद्धार टोली राती अवेर फर्किएको र अहिले विहान पुन खोजी शुरु गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले बगाउँदा दोभान खर्ककी ६ वर्षीया सइरा तामाङ बेपत्ता भएकी छन् । खोलाले बालिकासहित उनकी हजुरआमा ठूलीमाया तामाङ र मोटरसाइकल चालक स्थानीय राजकुमार तामाङलाई पनि बगाएकोमा उनीहरू भने पौडिएर जोगिन सफल भएका थिए । मोटरसाइकलसहित बालिकालाई खोलाले बगाएको ८ नम्बर स्थानीय योगेन्द्र कुमार बस्नेतले वताए ।

बेपत्ता बालिकाको राति अबेरसम्म खोजी प्रयास गरे पनि फेला नपरेको र खोलामा पानीको बहाव बढेका कारण रातीको समयमा  खोजीकार्य स्थगित गरिएको गजुरी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष देवराज ओझाले जानकारी दिए ।

अविरल बर्षाका कारण  राजधानी काठमाडौं जोड्ने मुख्य सडक देशका विभिन्न जिल्लाबाट राजधानी जोड्ने मुख्य सडक नागढुंगा मुग्लिन खण्ड (पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ)  ठाउँठाउँमा गएको पहिरोले अस्तव्यस्त बन्न पुगेको छ ।  धादिङको धुनीबेसीको नगरपालिकाको सिस्नेखोला सुरुङमार्गमा पहिरोसँगै आएको लेदोका कारण त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा खण्ड रातभर अबरुद्ध भएको छ । सडक छेउमा आएको पहिरोको लेदोका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन  रोकिन पुग्दा यात्रुहरुको बिचल्ली भएको छ ।  सडकमा थुप्रिएको  लेदो पटक पटक पन्छाए पनि लेदो खस्नेक्रम नरोकिंदा सवारी आवागमन प्रभावित छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु, सलाङघाट, थाक्रेको कमेरे, ४ किलो र ८ किलोमा गएको पहिरोले राजमार्ग राति अबेरसम्म ठप्प भएको थियो । राजमार्गमा जताजतै खसेको पहिरो सडक आयोजना र सडक विभागको डोजर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको भए पनि धेरै स्थानमा पहिरो गएको कारण सवारी आवागमन सुचारु गर्न कठिनाई भएको छ ।

राजमार्गमा पहिरोको जोखिम बढेपछि शुक्रवार राती देखि आज विहान सम्मको लागि  सवारीसाधनलाई सुरक्षित स्थानमा रोकेर बस्न भनिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । लगातारको वर्षाका कारण धादिङको अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छ । त्रिशूली, आँखु, बुढीगण्डकीलगायतका नदी तथा खोलामा जलस्तर बढेको छ ।