काठमाडौं, १३ असोज २०८१ । धादिङ र काठमाण्डौंको सिमानामा पर्ने त्रिभुवन राजपथको झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म ३० वटा शव निकालिएको छ ।
हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
झ्याप्लेखोलमा पहिरोले गाडी पुर्दा मृत्यु भएका मध्ये शनिबार रातिसम्म १४ जनाको शव फेला परेको थियो। आज थप १६ वटा शव फेला परेको हो।
गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् ।
शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहिन भएको थियो ।
झ्याप्ले खोलामै आएको पहिरोले माइक्रोबस पुरिँदा हिजो साँझ १४ जनाको मृत्यु भएको थियो । बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो ।
फेला परेकामध्ये १३ वटा शवको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए।
उनका अनुसार सनाखत हुनेमा स्याङजाको गल्याङ नगरपालिका–३ का सीता भट्टराई, उनका छोरा दिपेश भट्टराई र दिपिका भट्टराई छन्।
यस्तै, बुटवलको सेमलारका प्रकाश कुवँर, सिर्जना कुवँर, अनु मल्ल, गुल्मी चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।
त्यस्तै, कपिलवस्तु जितपुरका बोमबहादुर मगर र ठेगाना नखुलेकी भिमा कुमारीको शवको पनि पहिचान भएको छ। त्यसैगरी ठेगाना नखुलेका बोम कार्की र प्रकाश कुँवरको पनि शव फेला परेको प्रहरीले जनाएको छ।
उनीहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ।
सनाखत भएका शवशनिबारै निकालिएका थिए। आज निकालिएका शवको पहिचान हुन बाँकी छ। शनिबार पहिरोले पुरिएको अवस्थामा १४ जनाको शव निकालिएको थियो।
आज ४ महिला १२ पुरुष गरी जम्मा १६ वटा शव निकालिएको हो।