कभर फोटो

पहिरो खसेर थोपलखोला थुनियो

By Dhading News

October 13, 2024

धादिङ, २७ असोज २०८१ । पहिरो खसेपछिे धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ र ६ को सिमानामा रहेको थोपलखोला थुनिएको छ ।

थोपलखोलाको ज्यामिरे रह नजिकै २६ गते राती सुख्खा पहिरो खसेपछि खोला थुनिन पुगेको हो । पहिरोले खोला थुनिएपछि ज्यामिरे रह क्षेत्रमा ताल निर्माण भएको छ । खोला थुनिएर ताल निर्माण भएको हेर्न आईतबार विहानै देखि मानिसहरुको भिड लागेको थियो ।

पहिरोले थुनिएको भागमा पानी भरिएर एक छेउबाट वग्न थालेको भएपनि पहिरो हटाउन नसकिने भएकाले ताल कायमै रहेको स्थानीयले वताएका छन् । पहिरोले खोला थुनिएको खबर आए पछि सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले आईतबार दिउँसो घटनास्थल पुगेर पहिरोको अवलोकन गरेर फर्किएका छन् ।

खोला थुनिएको तटिय क्षेत्रमा मानव बस्ती नभएकोले मानविय क्षतीको सम्भावना कम रहेपनि पानीको सतह बढ्दै जाँदा खेतीवालीमा भने क्षती पुग्ने अवस्था रहेको छ ।

खोला थुनिनेक्रम बढ्दै जानेहो भने थोपलखोला हाईड्रोपावरको विद्युत्त उत्पादन केन्द्रमा भने क्षती हुन सक्ने त्रासमा त्यहाँका कर्मचारीहरु रहेका छन् । खोला थुनिएको ठाउँ थोपलखोला हाईड्रोपावरको विद्युत्त गृह भन्दा केही तल रहेको छ ।