कभर फोटो

त्रिपूरासुन्दरी माइ मेला (न्वागी जात्रा) मंसीर १८ र १९ गते हुने

By Dhading News

November 04, 2024

धादिङ, १९ कात्तिक २०८१ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको सल्यानकोटको माई मन्दिरमा यो बर्षको न्वागी जात्रा मंसीर १८ र १९ गते हुने भएको छ ।

हरेक बर्ष मंसिर महिनामा मनाईने सो जात्राको उत्तम साईत दशैंको टीकाको दिन हेरेर तिहारको भाइटिकाको दिन सार्वजनिक गर्ने चलन छ ।  नेपालको पहाडी भेगमा मनाईने जात्रा मध्ये सबै भन्दा ठुलो जात्राको रुपले परिचित यो जात्रालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । यस जात्रालाई माईस्थान जात्रा वा सल्यानवेसी जात्रा पनि भन्ने गरिएको छ । जिल्ला सदरमुकाम धादिङबेशीबाट करिब ३८ किमी सडक दुरीमा सल्यानकोट स्थित त्रिपुरासुन्दरी माईको मन्दिर रहेको छ ।

धादिङको सल्यानकोट र आगिन्चोकमा गरि तीन वटा त्रिपुरा माईको मन्दिर रहेको छ । सल्यानकोटमा रहेको कोटलाई माथिल्लो कोट भनिन्छ भने आगिन्चोकमा रहेको मन्दिरलाई तल्लो कोट भनिन्छ । यस ठाउँ नेपाल एकीकरणको बेला तत्कालीन राजा पृथ्वीनारायण शाह गोर्खाबाट नुवाकोट आक्रमणका लागि निस्किएको ऐतिहासिक तथ्य जोडिएको छ । नुवाकोट आक्रमण जाँदा विजयी भएपछि राजाले भगवतीको मन्दिर स्थापना गरेको किंवदन्ती छ । देवीलाई माथिल्लो कोटबाट आगिन्चोकको तल्लो कोटमा बाजा गाजा सहित डोलीमा लैजाने परम्परा रहेको छ । सल्यानेकाटमा रहेको त्रिपुरासुन्दरी भगवतीलाई बर्षभर विभिन्न ३ वटा मन्दिरमा राखेर पुजा गरिन्छ । सल्यानकोट माईमा विषेश समयमा राखेर पुजा गर्ने प्रचलन नेपालकै अनौठो र विरलै भेटिने प्रचलन रहेको त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समितिले जनाएको छ ।

प्रत्येक बर्ष यस मन्दिरमा लाग्ने मेला भर्नको लागि हजारौ भक्तजन यस मन्दिरमा पुग्ने गरेका छन् ।