पोखरा २५,कार्तिक २०८१ ।आईतबार-सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
कास्की जिल्ला अदालतले आज चौथो पटक म्याद थप गर्दै थप १३ दिन थुनामा राख्न अनुमति दिएको हो।
कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको एकल इजलासले सो निर्णय गरेको हो।अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन्।
लामिछानेसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाईं र पूर्वसंचालक रामकुमार खनाललाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो। पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो। पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो। अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।