कभर फोटो

तुलसीको विवाह गरी आज हरि बोधनी एकादशी पर्व मनाइँदै

By Dhading News

November 12, 2024

धादिङ,२७ कात्तिक २०८१ । आज कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह र विशेष पूजा गरी हरि बोधनी एकादशी पर्व मनाइँदैछ ।

असार शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गाे गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आज धादिङको गंगाजमुना, महेशदोभान  काठमाण्डौ उपत्यकाका चार नारायण भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेष नारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्छ ।

यहाँ जान नसक्नेले काठमाण्डौको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

हरि शयनीदेखि हरि बोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दु धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिने आयुर्वेदका डाक्टर वंशदीप शर्मा खरेलले बताउनु भयो ।

पर्वका अवसरमा आज धादिङको गंगाजमुना गाउँपालिका,काठमाण्डौका बूढानीलकण्ठ र नागार्जुन नगरपालिका,तनहुँको व्यास नगरपालिकाले  सार्वजनिक बिदा दिएको छ ।

गंगाजमुना गाउँपालिकाको गंगाजमुना मन्दिर बूढानीलकण्ठ नगरपालिकाभित्र रहेको नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थलका रुपमा परिचित बूढानीलकण्ठ मन्दिर र नेपालमा रहेको चार नारायणमध्येको कान्छो नारायण मन्दिरका रुपमा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत नागार्जुनको इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले स्थानीय पर्वका रुपमा सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।