हाम्रो पालिका

अपाङ्गता भएकाहरुलाई कम्प्युटर तालिम

By Dhadingnews.com

September 27, 2013

धादिङ,११ असोज/ अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि चार महिने आधारभूत कम्प्युटर तालिम शुक्रवारबाट धादिङबेसीमा सुरु भएको छ । धादिङ नेत्रहिन संघ धादिङको आयोजना र परिलक्षित सस्था काठमाण्डौको आर्थिक तथा प्राविधिक सहयोगमा शुरु भएको तालिमको शुक्रवार उद्घाटन गरिएको हो । तालिममा आँखा कम देख्ने एकजना महिला र शारीरिक अपाङ्गता भएका ५ जना गरी ६ जना अपाङ्ता भएका व्यक्तिहरुको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै धादिङ नेत्रहिन संघका कार्यवाहक अध्यक्ष आनन्द खतिवडाले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सवलाङ्ग जस्तै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिम पश्चात जिवन निर्वाहका लागि सहज हुने उनको भनाई थियो । कार्यक्रममा बोल्दै धादिङ आँखा केन्द्रका रामसिंह तामाङले अपाङ्ता भएकाहरुलाई राज्यले नै विशेष रुपमा कार्यक्रमहरु तयार गरेर लागु गर्नुपर्ने आवश्यकता रहेको बताए । नागरिकको अधिकार सुनिश्चित गराएर रोजगारीको सुनिश्चितता गराउन सक्नु राज्यको दायित्व भएको भन्दै तामाङले सरकारी पक्षले अपाङ्गता भएकाहरुको जिम्मा लिनुपर्ने बताएका थिए ।

त्यस्तै तालिम सहयोगी परिलक्षित सस्था काठमाण्डौका फिल्ड संयोजक विष्णु घिमिरेले अपाङ्गता भएकाहरुलाई सक्षम बनाउने आफ्नो अभियानमा सरकारी निकायले पनि ध्यान दिन सके अझै धेरै कार्यक्रमहरु संचालन गर्न तयार रहेको बताएका छन । अहिले ६ जनालाई मात्र सिकाउन सुरु गरिएको भएपनि आवश्यकता अनुसार अझै ६ जनालाई तत्काल तालिममा सहभागी गराउन सकिने घिमिरेले बताए । कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रका लेखनाथ आचार्य, धादिङका बरिष्ठ पत्रकार राजेन्द्रप्रताप शाह, नेत्रहिन संघ धादिङकी सचिव निर्मला रेग्मी लगायतको उपस्थिति रहेको थियो । निःशुल्क तालिममा सहभागी हुन पाएकोमा तालिममा सहभागी अपाङ्गता भएकाहरु पनि खुसी भएका छन् । तालिम पश्चात आफुहरुपनि सवलाङ्गले जस्तै सक्षम बनेर काम गर्न सक्नेमा उनीहरु विश्वस्त बनेका छन् ।