कभर फोटो

मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसो एक साता आंशिक बन्द हुने

By Dhading News

December 20, 2024

धादिङ,५ शुक्रवार २०८१ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसो एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।

नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले एक सूचनामार्फत जनाएको छ ।

नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार बिहान ११ देखि अपराह्न २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए ।

एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए।