प्रवास समाचार

चौथो रोड्स युथ फोरम २०१३को सुरुवात ,नेपालबाट ५ जना युवाहरु सहभागि

By Dhadingnews.com

September 29, 2013

ग्रिस÷नेपाली समय अनुसार शनिवार बेलुका ११ः३० बजे ग्रिसको पर्यटकीय टापु रोड्समा ४ दिन सम्म चल्ने चौथो रोड्स युथ फोरम २०१३को सुरुवात भएको छ । फोरममा विश्वका ४५ देशबाट करिव १५० जना युवा सहभागि भएका छन् भने नेपालबाट ५ जना युवाहरु सहभागि भएका छन् । आज विहान स्थानीय समय अनुसार ९ बजे सुरु भएको उद्घाटन कार्यक्रममा रोड्स युथ फोरम २०१२का विजेताको तर्फबाट नेपालका कविन्द्र बुर्लाकोटीले शुभकामना मन्तब्य र नेपालमा नेपाली युवाहरुले खेल्न सक्ने सकारात्मक भूमिकाका बारेमा चर्चा गर्नु भएको थियो ।

नेपालको शान्ति प्रक्रियामा युवाहरु सहभागि गराउने उद्देश्यले राष्ट्रिय युवा महासंघ नेपालको आयोजना, युवा तथा खेलकुद मन्त्रालयको सहकार्य, युथ टाइम इन्टरनेशनल मुभमेन्टको सहयोगमा नेपालमा गत बर्ष एउटा राष्ट्रिय युवा सम्मेलन २०६९ आयोजना भएको थियो । सम्मेलनमा सहभागि २५२ सहभागि युवाहरुले आफूले नेपालको दिगो शान्तिको लागि गर्न सक्ने स–साना कार्ययोजनाहरु निर्माण गरेका थिए । सम्मेलनमा कान्तिपुर पब्लिकेशन, न्यूज २४ टेलिभिजन र नेपाल बाणी नेटवर्क मिडिया पार्टनरको रुपमा रहेका थिए । युवा महासंघले यस बर्ष समेत सांस्कृतिक र सभ्यता सम्बाद विषयमा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैछ । बुर्लाकोटीले मानवीय सभ्यताको संरक्षण र प्रवद्र्धनका लागि सबै लाग्नु पर्ने र नेपालको सभ्यता विश्वभर चर्चा हुने कारणले पनि यसको उचित सम्मान र संरक्षणको लागि युवाहरुले भूमिका निभाउनु पर्ने बताएका थिए ।

फोरमको उद्घाटन सत्रका अवसरमा राष्ट्रिय युवा महासंघका अध्यक्ष कविन्द्र बुर्लाकोटी, युथ टाइम इन्टरनेशनल मुभमेन्टकी अध्यक्ष जुलिया किनास, वल्र्ड पब्लिक फोरमका अध्यक्ष डा. भ्लादिमिर याकुनीनले युवा महासंघले प्रकाशन गरेको राष्ट्रिय युवा सम्मेलन सम्बन्धि प्रकाशनको एकसाथ विमोचन गर्नु भएको थियो ।

सो प्रकाशन युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आजै युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री हरीप्रसाद नेपालले समेत विमोचन गर्नु भएको थियो । नेपालको शान्ति प्रक्रियामा युवाहरुले खेल्न सक्ने भूमिका र त्यससम्बन्धि भएको सम्मेलनलाई समेटेर बनेको सम्मेलन डकुमेन्ट्रीको समेत पहिलो प्रदर्शनी गरिएको थियो ।

सेम्टेम्बर २८ देखि अक्टोवर १ सम्म चल्ने रोड्स युथ फोरममा करिव ६० वटा परियोजना प्रस्तावहरु प्रस्तुत हुने कार्यक्रम रहेको छ र जसबाट उत्कृष्ठ ६ प्रस्तावहरुलाई विजेता घोषणा गरी कार्यान्वयनको लागि युथ टाइमले सहयोग गर्ने कार्यक्रममा सहभागी नेपाली प्रतिनिधी कविन्द्र बुर्लाकोटीले ग्रिसको रोड्सवाट धादिङन्युज डट कमलाई जानकारी दिनु भयो ।