कभर फोटो

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ गोरखादेखि धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म

By Dhading News

January 06, 2025

धादिङ,२२ पुस २०८१ । नेपाली सेनाले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस -२०८१ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ।  नेपाली सेनाको टोली आइतबार बिहान गोरखादेखि काठमाडौंसम्मको ‘एकीकरण पदयात्रा’मा निस्किएको हो ।

गाेरखाबाट ल्याईएकाे  एकीकरण टर्च र झण्डा धादिङकाे आरुघाटमा हस्तान्तरण भई साे पदयात्राकाे टाेली ऐतिहासिक रानीपाैवामा बास बसेकाे छ ।  पदयात्राकाे दाेश्राे दिन पुस २२ गते रानीपाैवाबाट बिहान ८ बजे टाेली प्रस्थान गर्ने छ । टाेलि हासेपसल, खहरे, लपाङ, कटुन्जे पुगेर बासबसी पुस  २३ गते दिउसो नुवाकाेटकाे टाेलीलाई सामरीभज्याङमा बुझाउने छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका पैदलमार्गमा ब्यान्ड सहित परम्परागत पोसाक लगाएका शार्दुलजंग गुल्मका सेना सहितका टोली आइतबार बिहान गोरखा दरबारबाट काठमाडौं हनुमानढोका दरबारसम्मका लागि हिँडेको हो ।

पदयात्राका सहभागी सैनिकलाई पश्चिम पृतनापति उपरथी मधुकरसिंह कार्की र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च, नेपालको झन्डा र नेपाली सेनाका स्थापनकालका प्रथम ६ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज) को झन्डा हस्तान्तरण गरेर पदयात्राको शुभारम्भ गरेका थिए ।

 काठमाडौंको हनुमानढोकाबाट गोरखा दरबार २६ कोसको दूरीमा रहेको छ।

पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवालगायतका ऐतिहासिक सम्पदाहरू रहेका छन्। पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ। जसका कारण ऐतिहासिक सम्पदा जोखिममा रहेको बताइएको छ। पुरानो हुलाकी मार्गका रूपमा रहेको बाटो आसपासका पुराना चौताराको पनि संरक्षण हुन सकेको छैन। कोट, किल्ला, गढीको इतिहास सेनासँग जोडिएकाले यस्ता सम्पदाको संरक्षण हुने अपेक्षासमेत गरिएको छ।

पदयात्रा पुस २६ मा काठमाडौं पुग्नेछ । गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकासँगको सहकार्यमा विसं २०७४ सालबाट नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्म एकीकरण पदयात्रा गर्दै आएको छ ।