मिलन तिमिल्सिना –
‘बाबु तिमी घरमा आएपछि मात्र दशैं आउँछ, मिलाएर छिटो आउ है’ अष्टमीको दिन विहान उठ्ने बित्तिकै आमाले भनेको कुरा मनमा खेलिरह्यो । कहिले १२ बज्ला र अफिसबाट फुत्किउँला भनेर घडी हेर्न थालें ।
१२ बजेको समाचार पढ्ने बित्तिकै झोला पछाडि भिरेर कलंकीतिर हानिएँ । नख्खु चोकमा पुगेर माइक्रो चढें । अलि पर पुगेपछि कन्डक्टरले भाडा माग्यो । आफ्नो आइडी कार्ड थिएन, १५ रुपैंया दिएँ । मसँगै बस्ने ठिटोले कार्डसँगै १० रुपैंया दियो ।
कन्डक्टरले भन्यो, ‘कार्ड छुट छैन, पाँच रुपैंया थप्नुहोस् ।’
‘किन छुट नहुने ?’ ठिटोले प्रश्न गर्यो ।
‘दशैं विदाको कारण छुट हुँदैन’ गाडी चलाइरहेको चालकले उत्तर दियो ।
‘कसले बनाएको यो नियम ?’ ठिटो फेरि कस्सियो ।
‘हामी आफैंले, खुरुक्क ५ रुपैंया दिनुहोस्, नत्र ओर्लनुस्’ चालक र कन्डक्टर दुवै कड्किए ।
ठिटोको केही जोर चलेन । ५ रुपैंया दिएर कार्ड गोजीमा राख्यो । म कलंकीमा ओर्लिएँ । चोकमै बस्नुभन्दा अलिपर मकालुको काउन्टर अघिल्तिर उभिँदा सिट पाइएला कि भन्ने आशमा त्यता लागें । धादिङबेसी चल्ने बसमा चढे घरै मुन्तिर ओर्लन पाइने भएकाले त्यतै जाने बस पर्खें । आधा घण्टासम्म उभिँदासमेत बस आएन । बल्लतल्ल एउटा बस आयो । पछिल्तिरको सिट खाली थियो ।
‘ल धादिङ धादिङ…’ बसको ढोकामा झुण्डिएको केटोले सुनसान हुनै लागेको कलंकी नै थर्काउँला झैं गरी करायो । मख्ख पर्दै मैले हात ठड्याएँ । बस रोक्यो ।
ढोकाबाट उक्लन नपाउँदै त्यो केटोले भन्यो, ‘दाइ ३ सय रुपैंया हो है, जहाँ ओर्लिएपनि ।’
धादिङबेसीसम्म पुगेको एकसय ८० र मेरो घर ओर्लंदा एकसय ६० रुपैंया भाडा पर्ने मलाई कण्ठै थियो ।
‘किन तीनसय ?’ मैले प्रश्न गरें ।
‘नियम नै यस्तै छ दाई, दशैंको तीनदिन त डबल भाडा हो’ उसले भन्यो ।
मलाई झनक्क रीस उठ्यो । बढी भाडा नतिरौं भनेर ट्राफिक प्रहरीको भनाई उद्धृत गर्दै आफैंले समाचार भनेर आएको, अनि आफैंले बढी भाडा कसरी तिर्ने ?
‘ल भयो जाउ तिमी मात्रै’ म पछि हटें ।
‘दाइ आज त अरु गाडी छैन, तपाईं यहीँ बस्ने हो दिनभर’ केटो मलाई खिस्याउँदै ढ्यापढ्याप पारेर हुईंकियो ।
म त्यसै उभिरहें । त्यसको आधा घण्टापछि झापा जाने नाइटबस त्यहीँ आएर रोकियो ।
‘दाई कता पूर्व हो ?’ म भन्दा अलि पाको उमेरको केटोले भन्यो ।
‘पूर्व त होइन, पूर्व जाने बाटो’ मैले भनें ।
उ केही नभनी अरुलाई सोध्न थाल्यो । मलाई अब धादिङको बसमा नभएर मलेखुसम्म भएपनि कुनै बसमा जानुपर्ने थियो ।
अनि त्यही केटोलाई भनें, ‘दाई मलेखुसम्म चढौं ल ?’
मलाई फेरि यसले पनि भाडा बढि लिने हो कि भन्ने डर लाग्यो ।
‘भाडा कति नि ?’ मैले मलिन स्वरमा भनें ।
‘लाग्ने भाडा दिनुस् न डेढसय’ उसले भन्यो । म केही नभनी चढें । उसले भनेको भाडा ठिकै थियो ।
मलेखुमा ओर्लें । धादिङ जाने बाटोतिर फर्केर एउटा बस अडिएको थियो । १०१५ जना मान्छे यताउता हेर्दै उभिरहेका थिए । त्यो हूलमा म पनि थपिएँ । अरुबेला जतिपनि बस पाइने ठाउँ सुनसान थियो । एकछिनपछि त्यहीँ रोकिराखेको बसका चालक र कन्डक्टर आए ।
‘ल सयसय रुपैंया दिने भएँ चढ्नुहोस्’ कन्डक्टरले भन्यो ।
नखाउँ दिनभरीको शिकार, खाउँ कान्छा बाउको अनुहार भनेझैं सबै रनभूल्लमा परे । त्यहाँबाट धादिङसम्म पुग्ने बस भाडा ५० रुपैंया हो । मेरो घरसम्म त २५ रुपैंयाले नै पुगिन्छ ।
‘ल है जहाँ झरेपनि एकसय’ केटो फेरि करायो ।
‘चाडपर्वको बेलामा के ५० रुपैंयाको मुख हेर्ने, जाऔं’ त्यहाँ उभिएका धेरै मान्छे बसमा चढे ।
‘ल बढी भाडा तिरेर म चाहिँ जान्न’ भनिरहेको अर्को मान्छे पनि चढ्यो । त्यही बढी भाडा तिर्नपर्छ भनेर म अर्को रुटको बस चढेर आएको, यसमा फेरि कसरी बढी भाडा तिर्ने ? मलाई जान मन लागेन । त्यहीँ नजिकै एकजना प्रहरी उभिरहेका थिए । अरु सबै बसमा चढेपछि म प्रहरीकहाँ पुगेर गुनासो गरें ।
ती प्रहरी पनि त्यहाँका रहेनछन् । डिउटी अन्तै रहेछ ।
‘कति भाडा लिन्छ यहाँबाट धादिङ ?’ उनले प्रश्न गरे ।
‘५० रुपैंया मैले भनें ।’
एकछिन है त भनेर ति प्रहरीले चल्नै लागेको बस रोके ।
‘तपाईंहरु सबै ओर्लनुस् त, डबल भाडा किन लिएको ? मलाई उहाँले कम्प्लेन गर्नुभयो’ उनले मलाई देखाउँदै भने । चालक, कन्डक्टर, यात्रु सबैले मलाई हेरे । सुटुक्क कम्प्लेन गरेको त प्रहरीले झन् भनिदियो । मलाई डर लाग्यो ।
‘उहाँ नगए जानुहुन्न, हामीलाई त जसरी पनि घर पुग्नुछ, त्यसैले हामीले नै दिएको डबल भाडा’ चालक र कन्डक्टर बोल्नुभन्दा पहिले सिटमा बसेका दुईजना खाइलाग्दाले जवाफ फर्काए । प्रहरीले केही भन्न सकेन ।
‘लौ तपैंहरुकै खुशीले चढेको भए त मैले के गर्ने’ प्रहरी पन्छिए ।
सबैजना फेरि मलाई हेर्दै बसमा चढे । चालक र कन्डक्टरले खाउँला झैं गरी मलाई आँखा तरे ।
‘लौ हेर्नुहोस्, यात्रु नै बढी भाडा तिर्न राजी भएपछि हामीले के गर्न सक्छौं र ?’ प्रहरीले मसँग भने । मैले पनि मुन्टो हल्लाएँ । जे भएपनि म कुनै हालतमा डबल भाडा तिरेर जाने पक्षमा थिइन । म एकघण्टा उभिरहें । ती प्रहरी पनि धादिङ नै पुग्ने रहेछन् ।
‘हाम्रो गाडी आउँदैछ, तपाईं त्यसमै जानुहोला’ उनले भने । मैले केही भनिन ।
एकघण्टा उभिएपछि घरमा फोन गरें । मोटरसाइकल भएको माइलो भाइलाई आफ्नो व्यथा सुनाएँ ।
‘बढी भाडा नतिर्नुस् दाइ, म लिन आउँछु’ उसले भन्यो ।
म ढुक्क भएर उभिरहें । एकछिनमा धादिङका पत्रकार शिव सिलवाल मोटरसाइकलमा त्यहीँ आइपुगे । उनी पनि धादिङ नै जाने रहेछन् । ल तपाईंको भाइलाई बाटैमा भेटौंला, चढ्नुस् भनेर पछाडि बसाले । बढी भाडा नतिरिकनै घर पुग्न पाएकोमा मन खुशी पनि थियो, बसवालाको दादागिरी सहनुपरेको सम्झँदा दुखी पनि ।
उज्यालो अनलाईन बाट