राजेन्द्रप्रसाद पाण्डे, धादिङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेद्वार
राजेन्द्रप्रसाद पाण्डेको जन्म २०१३ साल जेठ २९ गते धादिङको गजुरी गाविस ८ मा भएको हो । उहाँका बाबुको नाम स्व.नेत्रराज पाण्डे र आमाको नाम मनमाया पाण्डे हो ।
उहाँकी श्रीमती र ३ छोरा छन् । पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एमए गर्नुभएको छ । २०३२ सालदेखि राजनीतिमा सक्रिय भएका पाण्डे २०३३ सालमा भ्याली अर्गनाईजेशन कमिटीमा आवद्ध हुनुभयो । २०३३ सालमा केन्द्रीय कारागारमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका पाण्डेले २०३४ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सहित दुई कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गर्नुभयो । २०३६ साल कात्तिकमा नेकपा माले जिल्ला पार्टी सक्रिय दल स्थापना गरी सचिव भई ८ बर्षसम्म उहाँले काम गर्नुभयो । पाण्डे २०५० देखि ०५६ सालसम्म नेकपा एमाले वागमती अञ्चल सचिव, २०५५ सालमा पार्टी केन्द्रीय सदस्य, २०६५ साल देखि पोलिटव्युरो सदस्य हुनुहुन्छ । २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षिय उम्मेदवारका रुपमा उठेका पाण्डे पराजित हुनुभएको थियो । उहाँ २०४४ सालमा जनपक्षिय जिल्ला पञ्चायत सभापतिका रुपमा निर्वाचित हुनुभएको थियो । पाण्डे प्रतिनिधि सभामा धादिङ क्षेत्र नम्बर ३ वाट २०४८, ०५१ र २०५६ मा विजयी हुनुभएको थियो । २०५१ सालमा प्रतिनिधि सभामा नेकपा एमालेको प्रमुख सचेतक भएका पाण्डे २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री हुनुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उहाँ धादिङ क्षेत्र नम्वर ३ बाट पराजित हुनुभएको थियो । पाण्डे २०३४ सालदेखि २०४२ सालसम्म शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो ।