हाम्रो पालिका

रुख ढालेर सडक अवरुद्ध वनाउने प्रयास

By Dhadingnews.com

November 11, 2013

धादिङ,२५ कात्तिक / नेकपा माओवादी लगायत ३३ दलिय मोर्चाले आव्हान गरेको वन्दका कारण धादिङ जिल्लाको सदरमुकाम र जिल्लाका अन्य क्षेत्रमा प्रभाव परेको छ ।बन्द सफल गराउन आयोजकहरुले कात्तिक २५ गते बिहान कालुपाण्डेमार्गमा ठाउं ठाउंमा रुख ढालेर सडकमा अवरोध पुर्याएका छन् ।

धादिङबेसी मलेखुसडक खण्ड अन्तरगत पर्ने नलाङ र मुरलीभञ्ज्याङ गाविसको जंगलमा रुख ढालेर सडक अवरुद्ध गरिएको छ भने च्याडु घुम्तिमा सडकमा सवारी साधन चिप्लिने गरि मोविल पोखिएको छ । वन्दको पूर्वसन्ध्यामा कात्तिक २४ गते साँझ सदरमुकाम दुरसञ्चारटोलमा एकपटक विस्फोटको आवाज आएपनि त्यो कस्ले गराएको हो केही खुल्न सकेको छैन । विस्फोटबाट कुनै क्षति भने भएको छैन । बन्दका कारण सर्वसाधारणले सास्ती खेपेका छन् । सदरमुकाममा सार्वजनिक सवारीसाधन चलेका छैैनन् । विद्यालयहरु बन्द भएको छ भने बजार र उद्योग कलकारखाना बन्द भएको छ । बन्दलाई निष्कृय गराउन नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाले लगातार गस्ती गरिरहेको छ । बन्दको मारमा सबैभन्दा बढी निर्वाचनमा खटिएका कर्मचारीहरु परेका छन् । कात्तिक २५ गते निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतसहितका कर्मचारीलाई कार्यालयमा सम्पर्क राख्न आउनका लागि बोलाएकोले टाढाटाढा रहेका शिक्षक रकर्मचारीहरु हिडेर सदरमुकामतर्फ आइरहेका छन् । राजधानी प्रवेश गर्ने मुख्य नाका नौविसे नागढुङगा र पृथ्वीराजमार्गमा फाट्टफुट्ट रुपमा मोटर गुडेको स्थानीयवासीले वताएका छन । राजमार्ग क्षेत्रमा पनि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।