मुख्य समाचार

चार दशकदेखि ओडारमा एक्लै

By Dhadingnews.com

December 09, 2013

 

 

 

 

 

बरपुक (धादिङ) : कतै मान्छे मंगलग्रहमा बस्ती बसाउने कल्पना गरिरहेको छ तर त्यस्तै मान्छे कतै ओडारमा बसिरहेको छ र जंगली कन्दमुल खाएर जीवन निर्वाह गरिरहेको छ। धादिङ बरपुकका ५२ वर्षीय आइतराम चेपाङलाई चार दशकदेखि ओडारले नै आश्रय दिएको छ।

धुसास्थित ओडारमा बस्दै आएका आइतरामले भने, ‘मेरो घर भने पनि बास भने पनि यही ओडार हो हजुर।’ १२ वर्षको हुँदा आमाबाबुको मृत्यु भएपछि बेसहारा बनेका आइतराम बाध्यतामा परेर ओडार पसेका हुन्। यही ओडारमा जीवनका चार वसन्त उनले बडो सकसका साथ बिताए। ओडारमा बसेर बिहान-बेलुका हातमुख जोड्ने उपायका लागि भौंतारिँदा उनले जीवनसाथी खोज्न पनि बिर्सिए। उनी अविवाहित नै छन्। तर उनलाई बिहे गर्ने रहर छ।

आइतरामसँग सम्पत्तिका नाममा पकाउने एउटा पुरानो भाँडो अनि निमेक गरेर ल्याएको अन्न, जंगलबाट खोजेर ल्याएको गिठा र तरुल राख्नका लागि बनाएको काठको सन्दुक छ। ओडारसँगै रहेको सानो खोरिया फाँडेर उनले बारीजस्तै बनाएका छन्। त्यहाँ दिनभर उनी खनीखोस्री गर्छन्।

जीवन धान्ने विकल्प खोज्दै जाँदा उनले अहिले डोकोडालो बुन्ने काम थालेका छन्। पछिल्लो समयमा डोकोडालो बिक्री गरेको आम्दानीले छाक टार्दै आएको उनले बताए। ओडारमै भए पनि आइतरामले काठको बार हालेर ढोका बनाएका छन्। भित्र मूल्यवान सम्पत्ति केही नभए पनि बाहिर जानुपर्दा त्यो ढोकामा डोरीले बलियोसँग बाँधेरमात्र निस्कने गरेको उनले बताए। ‘अरू बेला त ठीकै छ। चिसोमा निकै सकस हुन्छ’, उनले भने। ओढ्ने-ओछ्याउने केही नभएकाले उनी आगोको तातोमा रात काट्छन्।

गाउँनजिकै भए पनि ओडारमा मान्छेहरू खासै पुग्दैनन्। गाउँ वा सहरका चिटिक्क परेका मान्छे देख्दा पनि उनी भाग्छन्। सञ्चारकर्मी टोली आइतबार ओडारमा पुग्दा उनी त्यति खुल्न चाहेनन्। ‘आफ्नो दु:ख अरूलाई देखाएर के हुन्छ र?’ उनले भने, ‘पैसा हुनेले सहरमा बसेर मिठो खाएका होलान्, साथमा केही नहुनेले त यसरी पनि बाँच्नुपर्‍यो नि।’

नेपाल चेपाङ संघले जनता आवास कार्यक्रमअन्तर्गत घर बनाइदिने आश्वासन आइतरामलाई पनि दियो। तर अहिलेसम्म घर कसैले उपलब्ध नगराएको उनको गुनासो छ। ‘एउटा घर भए बिहे घरेर घरजम गर्ने धोको थियो’, आइतरामले भने, ‘ओडारमा बस्ने मान्छे भनेपछि कसैले बिहे गर्न नै मान्दैनन्।’

डोकोडालो बुनेर चार घन्टा हिँडी पृथ्वीराजमार्गअन्तर्गत खटौती खोलामा ल्याएर बिक्री गर्नु उनको दैनिकीजस्तै भएको छ। फुर्सदमा कन्दमुल खोज्न जंगल चहार्ने उनी उमेर ढल्कँदै जाँदा काम गर्ने जाँगर पनि कम हुँदै गएको बताउँछन्। बिरामी पर्दा तातोपानी तताएर खुवाउने र बोलिदिने कोही नहुँदा भने आफूलाई दु:ख लाग्ने उनले बताए।

चेपाङको मुख्य बसोबास रहेको धादिङमा आइतराम एक प्रतिनिधि पात्रमात्र हुन्। अधिकांश चेपाङ भूमिहीन र अति गरिब भएका कारण जीवनयापन कष्टकर छ। धादिङका साथै गोरखा, चितवन, तनहुँ, लमजुङ र मकवानपुरमा पनि चेपाङ समुदायको बसोबास छ। धादिङमा करिब १८ हजारजना चेपाङ बसोबास गर्छन्।

-अन्नपूर्ण पोस्ट