राष्ट्रिय समाचार

महासंघको नयाँ सदस्यता स्थगन

By Dhadingnews.com

December 18, 2013

 

काठमाडौं : सदस्यता वितरणमा विवाद भएपछि नेपाल पत्रकार महासंघले गएको मंसिरमा स्वीकृत गरेका सबै नयाँ सदस्यता स्थगन गरेको छ। महासंघका महासचिव तथा संगठन विभाग प्रमुख ओम शर्माले बुधबार विज्ञप्‍तीमार्फत नयाँ सदस्यता स्वीकृतिका सम्बन्धमा २०७० मंसिर २४ गते पठाएको पत्र फिर्ता लिइएको बताएका छन्।

गैरपत्रकारलाई सदस्यता दिएको भन्दै नेपाल प्रेस युनियनले बिरोध गरेपछि महासंघले समस्या समाधानका लागि यस्तो निर्णय गरेको हो।

‘महासंघको विधान, स्वीकृत विधि र परम्पराबाहिर गएर सदस्यता वितरणको कार्य हुँदैन। कहिँ कतै भएमा छानबिन गरी सच्याइने छ’, महासचिव शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

महासंघले तुरुन्तै संगठन समिति र केन्द्रीय समितिको बैठक आहृवान गरी समस्या समाधानको पहल गर्ने जनाएको छ।

नेतृत्वले सदस्यता वितरणमा विधानविपरित निर्णय गरेको भन्दै केन्द्रीय सचिव जगत नेपालसहित चार सदस्यले महासंघ वैठक वहिष्कार गरेका थिए।