हाम्रो पालिका

महिलालाई अधिकार र वर्तमान कानुन विषयमा तालिम

By Dhadingnews.com

December 19, 2013

धादिङ/न्यायिक क्षेत्र सुधार परियोजना अन्र्तगत महिलाको न्यायमा पहुँच कार्यक्रमको गाविस स्तरिय सञ्जालका सदस्यहरुका लागि महिलाको अधिकार र वर्तमान कानुन विषयक तालिम बिहीवार देखि धादिङबेसीमा शुरु भएको छ ।

लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्ध अवधारणागत स्पष्टता गराउने, हिंसा प्रभावितहरुसंग काम गर्दा लैङ्गिक संवेदनशीलता बनाउने र महिलाको पक्षमा बनेका कानुनहरुको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले आयोजना गरिएको तालिममा जिल्लाका बैरेनी, नलाङ, बेनिघाट गाविसका २६ जना महिलाहरुको सहभागीता रहेको छ । तीन दिन सम्म चल्ने तालिममा मानवअधिकार र मौलिक अधिकार, मानवअधिकारको र दस्तावेजहरु, लैङ्गिक विभेदमा आधारित हिंसा, लैिङ्गकता र हाम्रो सामाजिकीकरण, महिलाको सम्पतिमाथीको अधिकार र यस सम्बन्धि कानुन, यौन तथा प्रजनन स्वास्थ्यको अधिकार, पहिचानको अधिकार, मानववेचविखन तथा ओसारपसार सम्बन्धि कानुन, घरेलु हिंसा, यौनजन्य हिंसा, बलत्कार र यौनजन्य र्दुव्यवहारको कानुनी पक्षहरुका बारेमा सहभागीहरुलाई जानकारी गराइने छ । तालिमको पहिलो दिन न्यायमा पहुँच परियोजनाको बारेमा महिला मानवअधिकार रक्षक खिल कुमारी तिवारी, मानवअधिकार र मौलिक अधिकारको बारेमा इन्सेक प्रतिनीधि सिताराम अधिकारी र लैङ्गिक हिंसा, लैङ्गिक हिंसाको प्रकार र कानुनी व्यवस्थाहरुको बारेमा परियोजना संयोजक राधिका सापकोटाले सहजीकरण गर्नुभएको छ । आइ सि जे नेपालको सहयोगमा भएको कार्यक्रम महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल, फोकस नेपाल र नारी जागरण केन्द्रको संयुक्त आयोजनामा भएको हो ।