प्रदेश

विश्वकप ट्रफी नेपाल ल्याइँदै

By Dhadingnews.com

December 20, 2013

ट्रफीलाई मध्याह्न १२ बजेपछि दशरथ रंगशालामा राखिनेछ। ट्रफीलाई राष्ट्रप्रमुखले मात्र छुन पाउनेछन्। जसका लागि राष्ट्रपति डा. रामवरण यादव रंगशालामा उपस्थित हुनेछन्। कोकाकोलाका लक्की ड्र विजेता, राष्ट्रिय खेलाडी र एन्फा पदाधिकारीले ट्रफीसँग तस्बिर खिचाउनेछन्।

ट्रफीलाई उनीहरूले पनि छुन पाउनेछैनन्। ट्रफीलाई राष्ट्रप्रमुखलाई दिइने सम्पूर्ण सुविधा दिनुपर्ने नियम रहेको छ। ट्रफीलाई सोल्टी सुइटमा राखिनेछ। ट्रफी टुरमा विश्वकप विजेता टोलीका कप्तान आउने नियम रहेको छ। आयोजक कोकाकोलाले यसको बारेमा कुनै जानकारी दिएको छैन। सन् १९७० विश्वकप विजेता ब्राजिलका कप्तान कार्लोस अल्बर्टो टोरेस आउने विभिन्न भारतीय वेभसाइटले जनाएका छन्।

ट्रफी नेपालबाट आइतबार भारततर्फ लगिने कार्यक्रम रहेको छ। नेपालबाट भारत हुँदै ट्रफी थाइल्यान्ड लगिनेछ। ट्रफी थाइल्यान्डको दक्षिणी तटमा रहेको कोय पाइने भन्ने स्थानमा पनि लगिने बताइएको छ। त्यहाँ माझीहरूले पानीमाथि तैरिने (फ्लोटिङ पिच) निर्माण गरेर फुटबल खेल्ने परम्परा छ।

हरेक विश्वकप फुटबल आयोजना हुनुभन्दा एक वर्षअघि ट्रफीलाई विश्वका विभिन्न देशमा लैजाने गरिन्छ। ६.१ किलो तौल भएको विश्वकप ट्रफी १८ क्यारेट सुनबाट बनेको छ। यसको उचाइ ३६.८ सेन्टिमिटर रहेको छ।

दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकप फुटबलअघि कोकाकोलाले फिफा वल्र्डकप ट्रफीलाई दुई सय २५ दिनसम्म ८३ देशमा घुमाएको थियो। सन् २०१४ को विश्वकपको ट्रफीलाई ८८ देशका ९६ वटा सहरमा लगिनेछ। यो वर्ष ट्रफीलाई दुई सय २१ दिन सम्म घुमाइने कार्यक्रम रहेको छ।

अन्नपूर्ण