हाम्रो पालिका

सरकारले लगानी गर्न नसक्दा करोडौँको जस्ताखानी संरक्षणविहीन

By Dhadingnews.com

December 28, 2013

धादिङ, – देशकै प्रमुख जस्ताखानीको व्यवस्थापनमा सरकारले लगानी गर्न नसक्दा करोडौँको जस्ताखानी संरक्षणविहीन बन्न पुगेको छ। तिप्लिङ गाविसस्थित गणेश हिमालको फेदीमा रहेको जस्ताखानी २०३५ सालदेखि उत्खनन गर्न थालिएको भए पनि अहिले अलपत्र अवस्थामा पुगेको छ।

सदरमुकाम धादिङबेंसीबाट सात दिनको पैदल यात्रापछि मात्र पुग्न सकिने जस्ताखानीमा जान रसुवा जिल्लाको धुन्चे, स्याप्रुबेसी हुँदै सोमदाङसम्म मोटर बाटॊ पनि निर्माण गरिएको छ। जस्ता उत्पादनका लागि कच्चा पदार्थ, सिसा र विभिन्न आकर्षक रुबी ढुङ्गा पाइने गर्छ। देशमा सशस्त्र द्धन्द्ध सुरु भएलगत्तै सुरक्षाका कारण देखाई २०५२ सालदेखि रोकिएको उत्खनन कार्य अहिलेसम्म पनि पुनःसंचालन हुन सकेको छैन।

खानीसम्म पुग्नका लागि निर्माण गरिएको मोटरबाटो जीर्ण भइसकेको छ भने खानी क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधार समेत प्रयोगविहीन हुँदै गएका छन्। खानी उत्खनन रोकिदा विद्युतीकरण कार्य समेत प्रभावित भएको छ। सरकारले खानी रेखदेखका लागि राखिएका कर्मचारी समेत कटौती गर्न थालेको छ।

नेपाल मेटल कम्पनीले सुरु गरेको गणेशहिमालको जस्ताखानी उत्खनन कार्य सरकारी लगानी र उचित व्यवस्थापन नभएका कारण बन्द हुन पुगेको हो। राज्यलाई करौडौं आम्दानी दिन सक्ने यस्ता कम्पनीलाई तत्काल सञ्चालन गर्नुपर्ने नेकपाएमालेका नेता राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो। कम्पनी पुनः सञ्चालनका लागि रु. एक अर्ब लाग्ने भए पनि सरकारले तत्काल रु. बीस करोड लगानी गरेमा मिनी प्लान्ट सञ्चालन गर्न सकिने कर्मचारी बताउँछन्।