राजनीति

सम्मान जनक स्थिति नभए सरकारमा नजाने ः नेपाल

By Dhadingnews.com

December 31, 2013

बैरेनी÷नेकपा एमालेका वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको सम्मानजनक सहभागिता नभए सरकारमा नजाने बताउनुभएको छ । रौतहट जाने क्रममा मंगलबार धादिङको बैरेनीमा रोकिनुभएका नेता नेपालले स्थानीयपार्टी कार्यकर्तासंग कुरा गर्दै जनताले एमालेलाई सम्मानजनक मत दिएर दोस्रो ठुलो पार्टी बनाएकाले सरकारमा सहभागिता जनाउन पनि सम्मनजनक हुनु पर्ने बताउनुभएको हो । नेपालले भन्नुभयो– ‘एमालेलाई लत्याएर सरकार बनाउने कोशिस गरिए सशक्त प्रतिपक्ष बनेर संविधान निर्माणमा सघाउँछौं ।’प्रतिपक्षमै बसेर संविधान निर्माण संगै संगठन निर्माणमा सबै शक्ति परिचालन गरी आगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाउन लागि पर्ने उहांले वताउनुभयो । एक प्रसंगमा नेता नेपालले दुवै माओवादी जनता प्रति इमान्दार नरहेको बताउनुभयो । नेपाली काँग्रेस भित्र पनि आन्तरिक कलह भएकाले भविष्य बोकेको पार्टी एमाले मात्रै भएको उहाँको दावी थियो । समानुपतिक सभासद छनोटमा पार्टी भित्र सर्वसम्मत निर्णय गर्दै सहज रुपमा टुुंग्याएको बताउँदै पुनर्विचार हुन नसक्ने बताउनुभयो । केही असन्तुष्टिका कुरा बाहिर आएको प्रसंगमा पार्टीमा योग्य व्यक्ती धेरै हुँदा हुँदै पार्टीले सिमित सिट प्राप्त गरेकाले सबैलाई अटाउन नसकिएको प्रतिक्रिया दिनुभयो । नेता नेपालले समानुपातिकमा नअटेका कार्यकर्तालाई अन्य अवसरहरुमा उचित प्राथमिकता दिने पनि बताउनुभयो ।