राष्ट्रिय समाचार

नागढुङ्गा–नौबिसे सडकखण्ड तत्काल मर्मत गर्न निर्देशन

By Dhadingnews.com

January 01, 2014

काठमाडौ–प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले राजधानी प्रवेशको मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–नौबिसे सडकखण्डको तत्काल मर्मत गरी कालोपत्रे गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

सडकखण्डको निरीक्षणका क्रममा उनले खाल्टाखुल्टीका कारण यात्रुले दुःख पाएकाले तत्काल मर्मत गर्न र मर्मतका क्रममा आवागमनमा समस्या उत्पन्न भए वैकल्पिक उपाय अबलम्बन गर्न समेत निर्देशन दिए । निरीक्षणका क्रममा उनले झ्याप्ले खोलामा ढलान गर्ने डन्डी झारेको भन्दै तत्काल निर्माण सम्पन्न गर्न समेत आग्रह गरेका थिए । सो राजमार्गका विभिन्न स्थानमा काम सुरु भए पनि पूर्णता पाउन नसकेकामा असन्तुष्टि व्यक्त गर्दै उनले ठेकेदारलाई तत्काल काम सम्पन्न नगरे कारबाही गर्न समेत पछि नपर्ने दृढता व्यक्त गरे ।

राजधानी प्रवेश गर्ने मुख्य सडकखण्ड अवरोध हुनु भनेको मुलुक नै अवरोध हुनु हो भन्दै उनले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न सचेत गराए । यसअघि पनि उनले सो खण्डको निरीक्षण गरेका थिए ।

सो सडकखण्डअन्तर्गत झ्याप्ले खोला, खत्री पौवा, सिक्रे खोला र याक घरमा सबैभन्दा बढी समस्या रहेको छ ।