धादिङ सेरोफेरो

त्रिशूली अतिक्रमणले जलयात्रा प्रभावित

By Dhadingnews.com

January 04, 2014

धादिङ : साहसिक जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा पर्ने त्रिशूली नदी सरकारी निकायको बेवास्ताका कारण अतिक्रमणको चपेटामा पर्न थालेको छ। अतिक्रमण बढ्दै गए पनि रोकथाम गर्न सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। नदीकिनारमा बढ्दै गएको अव्यवस्थित बसोवास र सहरीकरणले नदीलाई दूषित बनाएको हो। बगर अतिक्रमण गरी उद्योग स्थापना र नदीजन्य पदार्थ उत्खननले त्रिशूलीको अस्तित्वसमेत संकटमा पर्न थालेको छ।

प्राकृतिक स्रोतको उत्खनन र प्रयोग वातावरणमा प्रतिकूल असर नपर्ने गरी गर्नुपर्ने सर्वोच्च अदालतको २०६७ साउन २१ को आदेशविपरीत त्रिशूली नदी उत्खनन र प्राकृतिक स्रोत ओसारपसारको काम भइरहेको छ। तर, यसलाई रोक्न सम्बन्धित निकायको ध्यान आकर्षित हुन सकेको छैन।

धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको त्रिशूली नदी सात वर्षयता निकै प्रदूषित बनेको छ। संरक्षणमा सरकारी निकायको बेवास्ताका कारण नदीको अस्तित्व नै समाप्त हुने देखिएको त्रिशूली बचाऊ साझा अभियान धादिङका संयोजक उत्तम कँडेल बताउँछन्। बढ्दो वातावरणीय प्रदूषण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वभर विभिन्न कार्यक्रम भइरहँदा त्रिशूली नदी र यसको जलाधार क्षेत्रमा भने वातावरणीय एवं पर्यावरणीय विनाशसँगै अतिक्रमण बढिरहेको कँडेलको गुनासो छ।

नदी बगर र छेउछाउमा खुलेका अवैध क्रसर एवं बालुवा प्रशोधन उद्योगका कारण त्रिशूलीमा सबैभन्दा बढी प्रदूषण र अतिक्रमण भएको अभियानका सहसंयोजक जगन्नाथ नेपाल बताउँछन्। सरकारी निकायले बेवास्ता गरेका कारण नदी अतिक्रमण गरी बस्ती बसाउने काम हुन थालेकाले आगामी दिनमा नदीको अस्तित्व झनै संकटमा पर्दै जाने नेपालले बताए।

धादिङमा बग्ने त्रिशूली नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी ठाउँठाउँमा उत्खनन गर्ने गरिएको अभियान्ताहरूको आरोप छ। उनीहरूका अनुसार नदीमा प्रयोग हुने मेसिनका कारण जलचर लोप हुने क्रमसमेत बढेको छ। त्यस्तै नदीमा आश्रित समुदाय र मजदुर कामबाट विस्थापित भई अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य हुन पुगेको अभियन्ताहरू बताउँछन्। उत्खननकै कारण त्रिशूली नदी बाहै्र महिना धमिलो देखिन्छ।

यसले गर्दा मुलुककै पहिलो जलयात्रा गन्तव्य विष्णुमती र बाग्मतीको अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता अभियन्ताको छ। केही वर्षअघिसम्म साहसिक जलयात्राका लागि पहिलो विकल्पको रूपमा रहेको त्रिशुलीमा अहिले पर्यटकले पानी छुनसमेत घिन मान्ने गरेको नदी संरक्षण संघका महासचिव एवं जलयात्रा पर्यटन व्यवसायी मेघ आलेले बताए।

त्रिशूली नदीका शाखा महेश, आग्रा, मलेखु, बेल्खु, थोपल, आँखुलगायतका नदीखोलामा गैरकानुनी ढंगले प्राकृतिक स्रोत उत्खनन बढेको अभियानका संयोजक कँडेलले बताए।

त्रिशूली नदीमा अतिक्रमण रोक्न गस्ती बढाएको प्रहरीको भनाइ छ। कसैले खोला र नदीमा मेसिन प्रयोग गरेको भेटिए चालक र धनीलाई नियन्त्रणमा लिई जरिवाना गराउने गरेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल गैरकानुनी कार्य गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउँछन्। प्राकृतिक स्रोतको दिगो संरक्षण र आर्थिक स्रोत संकलन फरक कुरा भएकाले वातावरण संरक्षण प्राथमिकताप्राप्त कार्य भएको प्रजिअ पोखरेलको भनाइ छ।

– अन्नपूर्णपोस्ट् डट कम