मुख्य समाचार

ओडारमा बस्ने आईतरामले पाए नागरिकता

By Dhadingnews.com

January 06, 2014

केशव अधिकारी धादिङ,-चार दशक अघि देखि ओढारमा बस्दै आईरहेका धादिङको धुषा गाविस बरपुकका ५२ बर्षिय आईतराम चेपाङले आईतबार   नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन ।

आफन्तहरु कोही नभएपछि गाँउ नजिकैको जंगलको ओडारमा चारदशक अघि देखी बस्दै आईरहेका आईतरामको वारेमा गएको मंसिर २४ गते समाचार प्रकाशित भएको थियो । ‘चार दशक देखि ओडारमा – एउटा घर भए बिहे गरेर घरजम गर्ने धोको थियो’ शिर्षकमा प्रकाशित समाचार हेरेपछि मन्त्री परिषदका अध्यक्ष खिलराम रेग्मीले चेपाङलाई तत्काल नागरिकता प्रमाणपत्र वितरण गर्न र घरको लागि आवश्यक सहयोग गर्न धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेललाई निर्देशन दिएका थिए । चेपाङलाई धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले आईतबार   जिल्ला प्रशासन कार्यालय धादिङमा २६÷१ ७०५०५ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरेका हुन । नेपाली नागरिकता प्राप्त गरेपछि चेपाङ दङ्ग परेका थिए । घरवार विहिन अवस्थामा रहेका आईतरामलाई धादिङ जिल्लामा संचालन भईरहेको जनता आवास कार्याक्रम मार्फत घर उपलव्ध गराउन पहल गरिने नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले वताएका छन । १२ बर्षको उमेर हुंदा आमा बुवाको मृत्यु भए पछी बेसहारा बनेका आईतरामले यहि ओढारलाई आश्रयस्थल वनाउंदै आईरहेका छन । ओडारमा एक्लै बसेर जिविकोपार्जनका उपायहरु खोज्दै गर्दा अहिले सम्म बिहे गर्न पनि नभ्याएको उनले वताए । ओढारमा बस्दै आईरहेका आईतरामको अलिकती खोरीयावारी छ । ओढ्ने ओछ्याउने केही नभएका कारण ओढारको छेउमा आगो वालेर रात काट्ने गरेका आईतरामको ज्यानमा लगाएको बाहेक अरु केही कपडा समेत छैन । जिल्ला सदरमुकाम सम्म आएर नागरिकता वनाउनका लागि आउने जाने मोटर भाडा नहुंदा आंफुले नागरिकता वनाउन नपाएको आईतरामले वताए पछि धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले धुषा गाविसका सचिव राजेश लम्साललाई चेपाङलाई सदरमुकाम ल्याउने लाने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । गाउं सर्जमिन जुटेपछि गाविस सचिव लम्सालको सहयोगमा पहिलो पटक सदरमुकाम आईपुगेका आईतरामले अव एउटा घर वनाईदिन पनि सहयोग मागेका छन ।